धनगढी -शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार फेला परेको छ ।
उनी पोस्ट इन्चार्ज गोबिन्द विक संगै गस्तीमा गएका वेला बेपत्ता भएका थिए । त्यही राति दुवैजना बेपत्ता भएकोमा विकको शव आइतबार धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो ।
प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर पर मोहना नदीको बीचभागमा साउँदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियारले घाँटी रेटेर हत्या गरी नदीमा फालिएको अवस्थामा साउँदको शव फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले साउँदको शव नदीको बीचभागमा बालुवामुनि च्यापिएको अवस्थामा फेला परेको बताए ।
घाँटीमा धारिलो घरेलु हतियारको चोट रहेकोले साउदको पनि पनि हत्या भएको सिंहले बताए ।तस्करको समूहले राति गस्तीमा गएका प्रहरीको हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो ।
हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।
दुवैजनालाई नाकानजिक रहेको उखुबारीको छेउमा हत्या गरेर नदीमा फालेको खुलेको प्रहरी स्रोतको भनाइ छ ।