धनगढी - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षका उमेदवार जग्गु चौधरीको घरमै पसेर नेपाली काँग्रेसका कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका छन । खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षिया लक्ष्मी चौधरी, भाई विन्तीराम चौधरी, भाई बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाईते भएमा छन । बुधबार राती गोदावरी नगरपालिकाको वडा नम्बर ६ बडेहा भन्ने स्थानमा नेकपा एमालेका उमेदवार जग्गु चौधरीको घरमै पसेर यस्तो घटना भएको हो ।
खुकुरी प्रहारबाट उमेदवारका भाई विन्तीराम चौधरी सबैभन्दा बढी घाईते भएका छन । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ । उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ । खुकुरीको घाउ गहिरो भएकाले उनको सल्यक्रिया गरिएको पदमा अस्पतालका डाक्टर नरबहादुर मौनीले बताए ।
यस्तै उमेदारका भतिजा रविन चौधरीको पनि कान्छि औला खुकुरीले काटिएको छ । ‘हामीहरु खाना खाएर सुत्ने तयारीमा थियौं, नेपाली काँग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाह सहितका १४÷१५ जना टोली आयो, उनीहरु मदिरा खाएर लठ्ठीएका थिए, एकाएक घरभीत्र पसे, जग्गु चौधर कता छ भनेर सोधे, हामीले उनलाई अधेरोमा लुकाई दियौं, अनी मलाई पहिला लठ्ठीले हान्यो, मैले लठ्ठी खोसे, त्यसपछि खुकुरीले घाँटीमा हान्न खोजेको थियो, मैले हातले छेकेपछि हात काटियो’ पदमा अस्पतालमा उपचारमा रहेका विन्तीराम चौधरीले भने ।
उनले आफुहरु जित्ने पक्का भएपछि, काँग्रेसका कायकर्ताहरु आत्तिएर आक्रमणमा उत्रीएको बताए । उमेदवार जग्गु चौधरीको छोरीको पिठ्युमा चोट लागेको छ । ‘मलाई भीत्रबाट तानेर बाहिर आँगनमा ल्याए, खुकुरीले हान्न खोजेका थिए, म भागे, अनी खुकरीको उल्टो भागले पिठ्युमा चोट लाग्यो’ लक्ष्मीले भनिन ।
बडेहा गाउँमा थारु समुदायको ठुलो बस्ती छ । उनीहरुले घर आँगनमा खाना खाएर बसिरहेको थाहा पाएपछि, काँग्रेसका कायकर्ताको टोली त्यहाँ गएको हो । घरमै पसेर आक्रमण गर्दा पनि प्रहरीले सहयोग नगरेको पिडितले बतााए । ‘प्रहरीलाई खबर ग¥यौ, पाँच मिनेटको समयमा पुग्नुपर्ने प्रहरी एक घण्टा ढिलो आयो, अहिले प्रहरी सत्ता पक्षको पक्षपोषण गरिरहेको छ’ घाईते विन्तीरामले भने ।
आक्रमण गर्नेहरुलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ भने गरेको छैन । इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डिएसपी रविन्द्रराज पाण्डेले केही नामहरु पिडितले दिएको र उनीहरुको खोजी भईरहेको बताए ।
उता त्यही वडामा काँग्रेसको तर्फबाट वडा अध्यक्षका उमेदवार जयराज फुलाराले भने त्यहाँ राती भोजभतेर भईरहेको देखेपछि रोक्न खोज्दा झडप भएको बताए । उनले आफुले झडप नहोस भनेर रोक्न हदै सम्मको प्रयास गरेको बताए ।