काठमान्डौ -राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वका लागि शनिबार आज निर्वाचन हुँदै छ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि साँझ ५ बजेसम्म मतदान हुन लागेको हो।
अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । उनीहरुले प्यानल नै खडा गरेका छन्। उपाध्यक्षमा नौ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।
सदस्यमा एक सय ४१ मध्ये दुई सय ६४ जनाको उम्मेदवारी परेको उनले बताए । अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताए । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्। बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ।