धनगढी -निर्णाणाधिन गेटा मेडिकल कलेजको विषय सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै कैलालीमा स्थानिय बिरोध जनाएका छन । करिब ९० प्रतिशत भौतिक संरचना निर्माणको काम सकिएको उक्त मेडिकल कलेजलाई सरकारले सन्चालनको लागी बेवास्ता गरेको आरोप स्थानीयको रहेको छ । बरु सरकारले डडेल्धुरामा मेडिकल कलेज खोल्ने निती तथा कार्यक्रममा मा उल्लेख गरेको छ । धेरै स्थानियले सामाजिक सन्जाल मार्फत पनि बिरोध जनाएका छन ।
आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ। चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको उनले बताए। संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायत संरचना निर्माणको काम सकिएको छ।
खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सबस्टेसन निर्माणलगायत काम भने बाँकी छ। अहिले आफूहरू विद्युतको सवस्टेसन निर्माणको काममा लागिरहेको पुजाराले बताए। उनले मेडिकल कलेज चलाउन मिल्नेगरी संरचना निर्माण भइसकेको जानकारी दिए।
२०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए। उनले सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आँखा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो। तर, ७ वर्षसम्म मेडिकल कलेजको काम अगाडि बढेन। २०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। २०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।
अत्तरियामा बिरोध
गोदावरी नगरपालिकामा रहेको गेटा मेडिकल कलेज सन्चालनको कार्य अगाढी बढाउनु पर्ने भन्दै बुधबार अत्तरिया चोक बिरोध प्रदर्शन गरिएको छ । स्वतस्फुर्त नागरिक दबाब समुहले चक्का जाम समेत गरेको छ । यँहाका स्थानियले छिटो भन्दा छिटो गेटा मेडिकल कलेज सन्चालनमा आउनुपर्ने बताएका छन । कुनै पनि बाहानामा यसलाई रोकेर अन्य ठाउँमा मेडिकल कलेज खोल्ने कुरा स्विकार्य नहुने उनिहरुको भनाई रहेको छ ।