महेन्द्रनगर - सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप कुलपति र रजिष्ट्रारलाई केन्द्रिय कार्यालय प्रवेशमा रोक लगाएको छ । सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियुले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना माग सम्बोधन नभएसम्मका लागि आजदेखी उप कुलपति र रजिष्ट्रारलाइ केन्द्रीय कार्यालय प्रवेशमा रोक लगाएको हो ।
यस्तै विश्वविद्यालयको केन्द्रीय कार्यालयका परीक्षा बाहेक अन्य कार्यहरु आज एक दिनका लागि बन्द गर्ने घोषणा समेत गरिएको छ । उप कुलपति र रजिष्ट्रार लगायतका पदाधिकारीले पुरानै शैली दोहो¥याएको र विश्वविद्यालयको सुधारमा काम नगरेकाले आन्दोलनमा उत्रनुपरेको अनेरास्ववियुका जिल्ला संयोजक विरेन्द्रराज बिष्टले बताए ।
झण्डै दुई साताअघि अनेरास्ववियुले विश्वविद्यालयमा ज्ञापनपत्र बुझाउँदै कोरोना महामारीका कारण नियमित कक्षा सञ्चालन हन नसकेकाले अनलाइन कक्षाको नाममा लाखौं रकम हिनामिना गरेको छानबीन गर्नुपर्ने, विद्यार्थीहरुलाई निःशुल्क डाटा उपलब्ध गराउनुपर्ने, लकडाउन अवधिभरको शुल्क मिनाहा गर्नुपर्ने, अनियमित तरिकाले केन्द्रीय कार्यालय, केन्द्रीय क्याम्पस लगायतका सम्पूर्ण आंगिक क्याम्पसहरुमा राखिएका कर्मचारी र प्राध्यापकको नियुक्ति खारेज गरी आवश्यक कर्मचारी र प्राध्यापकहरू सेवा आयोगमार्फत व्यवस्था गर्नुपर्ने माग अघि सारेको थियो।
छात्रावासको तत्काल व्यवस्था गरिनुपर्ने, विश्वविद्यालय सभाबाट पास नगरी उपकुलपतिले एकलौटी ढंगबाट अवैधानिक रुपमा नियुक्त गरेका विश्वविद्यालय कार्यकारी सदस्यहरुको नियुक्ति खारेज गर्नुपर्ने, दोहोरो प्राध्यापन तत्काल खारेज गर्नुपर्ने र केन्द्रीय क्याम्पसमा विद्यार्थीको संख्याको अनुपातमा प्राध्यापनको व्यवस्था गरिनुपर्ने लगायतका सात वटा मागहरु राखी अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको थियो।
विश्वविद्यालय समक्ष प्रस्तुत गरिएका माग पूरा नभएपछि आन्दोलनमा उत्रिनु परेको विद्यार्थी नेताहरुले बताएका छन्। उप९कुलपतिको नियुक्ति भएदेखि विश्वविद्यालयको समग्र विकासमा ध्यान दिनुको साटो विश्वविद्यालयमा अनिश्चितता र अव्यवस्था बढदै गएकाले त्यसका विरुद्ध आन्दोलन गर्नु परेको विद्यार्थीहरुको भनाई रहेको छ।