अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका २ जना सहित सुदूरपश्चिम प्रदेशका आज एकै दिन १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलालीका ५४ र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमा धनगढीका मात्रै ४१ जना रहेका छन् ।
यसै गरि गोदावरी नगरपालिका वडा नं १ का २ जना , टीकापुर नगरपालिकाका १० जना र भजनी नगरपालिका वडा नम्वर ६ का १ जना रहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी दिए ।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यसैगरि जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
डडेल्धुराको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ८ जनाको परिक्षण गर्दा दार्चुलाका ४६ जना र डोटीका दुई जनामा संक्रमण पुष्टि भएको डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले जानकारी दिए । दार्चुलाका ४६ मध्ये ४५ जना सशस्त्र प्रहरी बल नम्वर ४४ गण दार्चुलामा कार्यरत सशस्त्र प्रहरी रहेको छन् ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परिक्षणमन २ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ जनाको परिक्षण गरिएकोमा थलरा गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि हो ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार पुगेको छ भने ६ हजार ६ सयले कोरोना जिते डिस्चार्ज भएका छन् ।