काठमाडाैं - नेपालमा कोरोना संक्रमणबाट सोमबारसम्म ५५४ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार दिउँसो अध्यावधिक गरेको तथ्यांकअनुसार १६० जना महिला र ३९४ जना पुरुषको मृत्यु भएको हो।
सबैभन्दा धेरै बागमती प्रदेशमा १४४ जना पुरुष र ७९ जना महिला गरी २२३ जना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना पुरुषको मृत्यु भएको छ।
बागमती प्रदेशपछि धेरै मृत्यु हुनेमा प्रदेश २ रहेको छ । यहाँ १३६ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा ८५ जनाको मृत्यु भएको छ। प्रदेश १ मा ६१ जना, गण्डकीमा २८ र सुदूर पश्चिममा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा बसैभन्दा धेरै ६१ देखि ७० वर्ष उमेर समूहका संक्रमितको मृत्यु भएको छ। यस उमेर समूहमा मात्रै ३६ जना महिला र ९४ जना पुरुष गरी १३० जना संक्रमितले ज्यान गुमाएका छन्। त्यसपछि धेरै मृत्यु हुनेमा ५१-६० उमेर समूहका संक्रमित छन्। यसमा ८२ पुरुष र २६ जना महिला गरी १०८ जना संक्रमितको मृत्यु भएको छ। ७१ देखि ८० उमेर समूहमा ८७ जना र ८० वर्ष भन्दामाथिका ४९ जना संक्रमितको मृत्यु भएको छ।
सबैभन्दा कम १० वर्षभन्दा मुनिका बालकालिकाको मृत्यु भएको छ। यसमा ५ जना बालिका र ३ जना बालकको मृत्यु भएको छ। ११ देखि २० वर्ष उमेर समूहका पनि ११ जना संक्रमितले ज्यान गुमाएका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुने युवा अवस्थाका व्यक्तिको संख्या पनि निकै ठूलो रहेको छ। २१ देखि ३० र ३१ देखि ४० उमेर समूहमा क्रमशः २५ र ६१ गरी ८६ जना संक्रमितको मृत्यु भएको देखिन्छ। यो हेर्दा कोरोनाबाट मृत्यु हुने युवा उमेर समूहका व्यक्तिको संख्या १५.८ प्रतिशत छ। ४१ देखि ५० उमेर समूहमा ७५ जना संक्रमितको मृत्यु भएको छ।
२१ देखि ५० वर्ष उमेर समूह सबैभन्दा सक्रीय उमेर समूह हो। यस उमेर समूहका मात्रै १६१ जना संक्रमितले ज्यान गुमाएका छन्। यो कुल मृत्युको २९ प्रतिशत हो।
मृत्यु भएकामा ५० वर्षमाथिका
५१-६० मा १०८ जना, ६१-७० मा १३० जना, ७१-८० मा ८७ र ८०माथि मा ४९ जना गरी ३७४ जना संक्रमितको मृत्यु भएको छ।
५० वर्ष भन्दा कम उमेरका संक्रमितमा
०-१० मा ८ जना, ११-२० मा ११ जना, २१-३० मा २५ जना, ३१-४० मा ६१ जना, ४१-५० मा ७५ जना गरी जम्मा १८० जनाको मृत्यु भएको छ।
यो हेर्दा मृत्यु हुनेमा ३३ प्रतिशत संक्रमित ५० वर्षमुनिका र ७६ प्रतिशत ५० वर्षमाथिका छन्। यो आँकडाले कोरोना संक्रमणबाट पाका उमेरका मात्रै प्रभावित हुन्छन् भन्ने अवस्था देखिँदैन।
संक्रमितको संख्या ठूला शहरमा फैलिइ नै रहेको छ। मृत्युदर बढ्दै जाँदा यसबाट कम उमेरकै संक्रमितहरु पनि ठूलो संख्यामा मृत्यु हुनसक्ने यो आँकडाले देखाएको छ।
सभार - हेल्थपाटी