अत्तरिया - सुदूरपश्चि प्रदेश सरकारले दुई बर्ष अगाडी कैलालीको गोदावरी नगरपालिकालाई प्रदेशको स्थायी राजधानी तोकेपछि यस तर्फ सबै ध्यान केन्द्रित भएको छ । राजधानी तोकिएको गोदावरी नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र अत्तरिया बजार सुदूरपश्चिका ९ वटै जिल्लालाई जोड्ने मुख्य केन्द्र बिन्दु पनि हो ।
राजधानी तोकिएको बजार क्षेत्र सफा , सुन्दर र ब्यबस्थित हुनुपर्ने भएपनि अत्तरिया बजारको सुन्दरता झन झन खस्किदो अबस्थामा रहेको छ । हिउँद समय होस वा बर्खा समान्य बर्षा हुदाँ पनि बजार क्षेत्र डुवानमा पर्ने गर्दछ । यसको प्रमुख कारण बजार क्षेत्रमा रहेका सडक नालीको ब्यबस्थापन नहुनु रहेको ब्यापारीहरु बताउँदछन् ।
बजार क्षेत्र आसापास निर्माण गरिएको सडक नालीको लामो समयदेखी मर्मत सम्भार नहुदा अहिले भताभुङ भएका छन् । सडक किनारमा बनाइएका नाला माथिका ढक्कन फुटेर टुक्रा टुक्रा भएको लामो मसय हुदा पनि सम्बन्धित निकायले मर्मतसम्भारमा ध्यान नदिदा नाली भताभुङ भएका हुन् ।
यसले गर्दा एकातिर बजार क्षेत्रको सुन्दरता कुरुप बन्दै गएको छ भने अर्को तिर दुर्घटनाको जोखिम निकै बढेको छ । बजारका मुख्य सडक किनारमा रहेको नालामाथि बनाइएको ढक्कन वर्षौदेखि फुटेर ठाउँ ठाउँमा ठूल्ठूला प्वाल परेको स्थानीयको गुनासो छ । नालामाथि लगाएका ढक्कनहरु फुटेर जताततै फोहोर फैलिएको छ ।
नालीको अबस्था नाजुक हुदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा ठूलो दुर्घटना हुने सक्ने सम्भावना रहेको गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धन चोखालले बताइन् । उनले दिउसो त जसोतसो बच्न सकिने भएपनि रातिको समयमा सर्वसाधारण यात्रु देखी बजार क्षेत्रमा आवतजावत गर्ने साना तथा ठूला सवारी साधनहरु कति बेला नालामा खस्छन् भन्ने डर रहेको बताइन् ।
अत्तरिया बसपार्क देखी मुख्य चोक शौचालय सम्मको नालीको अबस्था झनै नाजुक रहेकाले आसपासका होटल ब्यबसायीहरुले निकै हैरानी खेपिरहेको उनको भनाई छ ।
'पुराना नालीहरु ब्नेदेखी न सरसफाई गरिएको छ न त फुटेका ढक्कनहरु परिर्वतन गरिएका छन्' उनले भनिन् - 'यसले गर्दा भित्रका पानी ओहोरदोहोर नहुदा भित्रको फोहोरसंगै दुषित पानीले निकै दुर्गन्ध फैलिएको छ , त्यो आसापास हिड्दा नाक थुनेर हिड्नुपर्ने अबस्था रहेको छ ।'
यस्तै अत्तरिया बजारमा अटो चलाइरहेका एक जना अटो चालक रमेश बिष्टले बजार क्षेत्र नाली निर्माण गरिपनि त्यसको मर्मत सम्भार तथा सफसफाई नहुदाँ नाली फुटेर सडकमा दुर्घन्ध फैलिरहेको बताए । उनले अहिले बिभिन्न खाले नयाँ नयाँ रोगहरु आइरहेका बेला यसरी नगरबासीको स्वास्थ्यमाथि नै असर पर्ने खालको समस्या समाधानमा सम्बन्धित निकाय नगरपालिका ,सडक बिभागले ध्यान दिनुपर्ने बताए ।
बर्षायतका बेला नाली भित्रको भरिएको पानी ओहोरदोहर हुन नपाउँदा नाली फुटेर सडकमै दुषित पानी भरिएको छ । बजारको मुख्य चोककै पूर्वपट्टि त झन एक बर्षदेखी तालनै बनेको छ । अहिले त्यस ठाउँमा मानिसहरुको आवतजावत नै बन्द भएको छ । जीर्ण अबस्थामा रहेका नाला माथिका ढक्कन सबै फुटेर भताभुङ्ग भएपछि छाडा चौपाया धेरै पटक नालामा खस्दा कतिपय चौपाया घाइते भएका छन् भने कतिको मृत्यु समेत भएको छ ।
जनप्रतिनिधिहरु आइसकेपश्चात नगरले नयाँ रुप लिनेमा आशामा रहेका गोदावरी नगरबासी अहिले निराश बनेका छन् । बजार क्षेत्रका ब्यापारीहरु दिक्क भैसकेका छन् । उता गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले अहिले अत्तरिया बजारको मुख्य समस्या नै ढल निकास र नालीहरुको ब्यबस्थापन रहेको बताइन् ।
उनले यसका लागि नगरपालिकाले गत बर्ष पनि बजेट छुट्याएको भएपनि बिबिध कारण काम हुन नसकेको र यस बर्ष पनि बजेट बिनियोजन गरिएको बताइन् । अहिले गाउँघरमा पनि ढल निकास सहितको बाटो निर्माण भैरहेको र बजार क्षेत्रमा पनि प्रदेश र संघिय सरकारको समन्ब्यमा चाडै यस समस्याको सामाधन गर्ने तर्फ नगरपालिकाले सोचिरहेको बताइन् ।
'नालीको उचित ब्यबस्थापन नहुदा बजार क्षेत्रको सुन्दरता हराउनुका साथै दुर्घटनाको जोखिम बढेको कुरा सबैलाई अबगत छ , मैले बारम्बार कार्यपालिका बैठकमा पनि यस बिषयमा कुरा उठाएकी छु' उनले भनिन् - 'बजार क्षेत्र नगरपालिका वडा नं १ र २ मा पर्ने हुदाँ वडामा पनि ढल निकासको योजना थुप्रै रहेकाले यस तर्फ वडाका जनप्रतिनिधिहरुले पनि गम्भिर भएर लाग्नुपर्छ ।'
अत्तरिया धनगढी ६ लेन सडकले गर्दा पनि काम गर्न समस्या भएकाले अब सडक डिभिजनसंग सहकार्य गर्दै चाडै यसको ब्यबस्थापनामा नगरपालिकाले काम अगाडी बढाउने उनको भनाई छ ।