कञ्चनपुर- जिल्लाको दक्षिणी भेगमा निर्माणाधीन डोकेबजार–दैजी हुलाकी सडक आयोजनाको काम सुस्त गतिमा भएको भन्दै स्थानीयहरुले शनिबार २ घन्टा सडक बन्द गरेका छन् । पुनर्वास नगरपालिकाको दोदा पुलमा स्थानीयहरुले ढुंगामुढा लगाएर बिहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म बाटो बन्द गरेका थिए । २०७३ माघ महिनामा ३० महिना भित्र काम सक्नेगरि ठेक्का दिएको शर्मा राजेन्द्र जेभी कन्स्ट्रक्सनले सम्झौता समय सकिनै लाग्दा समेत ५० प्रतिशत पनि काम सम्पन्न नगर्दा स्थानीय आक्रोशित बनेका हुन् । बेलौरी – पुनर्वास – धनगढीको बाटो धुलोले स्थानिय आक्रान्त बनेका छन् ।
कम्पनीका इन्जिनियर रोशन भट्टले काम पहिले अलि सुस्त गतिमा भएको भएपनी अहिले तिब्र रुपमा भईरहेको बताए । 'डोकेबजारदेखि दोदा नदि सम्म हामीले जसरी पनि असार मसान्तसम्म कालोपत्रे गर्छौँ,' उनले भने -' हामीले बेस बनाएर लगेका छौं । प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीयदलका प्रमुख सचेतक तारालामा तामाङले भने “यस अघि ठेकेदारले काममा अनियमितता गर्न थालेपछि हामीले निरन्तर निगरानी गरेका छौँ । ठेकेदार कम्पनीले दोदा नदि सम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । काम छिटो गराउनका लागि नेताहरुले कुनै चासो नदिएको भन्ने होइन । हामी यसलाई कसरी छिटो बनाउन सकिन्छ, लागेकै छौँ ।'
पटकपटक हुलाकी सडक निर्माणमा तिव्रता दिने अभियानमा लागेका नेकपाका नेता पल्लव राज भट्टले ठेकेदार कम्पनीले अहिले कामलाई तिब्रता दिएको बताए । उनका अनुसार ठेकेदार कम्पनीसंग स्थानीयको प्रत्यक्ष सम्पर्कमा काम अघि बढेको छ । ठेकेदार कम्पनीले गरेका विभिन्न प्रतिबद्धता पूरा हुन सक्ने की नसक्ने भन्ने स्थितिले भने आशंका उब्जिएको उनले बताए ।
आन्दोलनको नेतृत्व गरेका स्थानीय युवा हेमन्त रेग्मीले भने “ठेक्का लिएर सडक अलपत्र बनाउने ठेकेदार कम्पनीको लापरबाहीको विरुद्धमा आन्दोलन गर्नु परेको छ । ठेकेदार कम्पनीले असारसम्म सम्म दोदापुल सम्म कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुसारको काम भए नभएको नियमित अनुगमन गरिने छ । नियमित पानी हाल्ने समेत प्रतिबद्धता भएको छ । पानी हालिएन भने पुनः आन्दोलन गर्नेछौ ।”
आन्दोलनको नेतृत्व गरेका अर्का स्थानीय युवा हिमेश थापाले काम छिटो गराउन र धुलो नियन्त्रण गरी काम सम्पन्न होस् भनी दबाब दिन सडक बन्द कार्यक्रम गरिएको बताए । उनले ठेकेदार कम्पनीले ३० महिनामा सक्ने गरी ठेक्का लिएको सडक ठेक्का अवधि सकिनै लाग्दा ५० प्रतिशत पनि काम सम्पन्न नभएका कारण संघर्ष गर्नुपरेको बताए ।
तत्कालीन भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको यस हुलाकी सडक खण्डको कालोपत्रेको शर्मा राजेन्द्र जेबि कन्स्ट्रक्सनले ० किलोमिटर डोकेबजार देखि २० किलोमीटर बुट्टावारी सम्मको जिम्मा पाएको थियो । कम्पनीले ३० महिनामा सम्पन्न गर्नेगरि कुल ३६ करोड ४७ लाख ९९ हजार ८ रुपैयाँकोको बजेटमा ठेक्का पाएको होभने विभिन्न कारणमा ठेकेदारलाई बजेट थप गरिएको छ । हाल यस सडकखण्डको माटो भराई र ग्राभेलेङको काम हुँदैछ ।
यसैगरि दोस्रो खण्ड बुट्टाबारी देखि बेलडाँडी सम्मको २० किलोमिटर देखि ४० किलोमिटर सडक निर्माणको लागि टेन्डर बाबा हाउस सिद्धिशाहीले लिएको थियो । यसको लागत ४१ करोड ४१ लाख ४९ हजार १२ रुपैयाँ ६३ पैसा भ्याट सहित रहेको छ । यस सडकखण्डको कार्य प्रगति भने शर्मा राजेन्द्र जेबिले भन्दा अलि छिटो गरेको छ ।
अन्तिम खण्डका लागि बेलडाँडी देखि दैजी सम्म ४० देखि ६२ किलोमीटरको टेन्डर पनि शर्मा राजेन्द्र जेबि कन्सट्रक्सनले पाएको थियो । जसको कुल लागत ३८ करोड ५७ लाख ३२ हजार ५८ रुपियाँ रहेको छ । भ्याट सहित तिनै खण्डको ६२ किलोमीटर यस सडकको कुल बजेट १ अर्ब १७ करोडमा सुरुवाती सम्झौता भएपनि पछी बजेट थप गरिएको छ ।