दार्चुला -नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो सोमबार हस्तान्तरण गरेको छ ।
नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो । सो बाटोको आज नै सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उदघाटन गरेका छन ।
महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो फोरेर दुई मिटर चौडाइ भएको ५५० मिटर लामो बाटो निर्माण गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सो बाटो निर्माण गर्न रु एक करोड ८ लाख खर्च भएको छ ।
घाँटीबगर क्षेत्र दार्चुला सदरमुकाम खलङ्गाबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । उक्त बाटो निर्माणको क्रममा नेपाली सेनाका एक जवानले वीरगति प्राप्त गरेका थिए । चार महिनासम्म सेनाका ६५ तथा स्थानीय करिब ४० जनाको जनशक्ति दैनिकरुपमा परिचालन गरिएको थियो ।
महाकाली तटीय क्षेत्रको उक्त बाटो बर्सेनी वर्षातमा बाढी पहिरोका कारण भत्किँदै आएको थियो । पैदल बाटोसमेत नहुँदा खलङ्गादेखि झण्डै ७२ किलोमिटरको दूरीमा रहेको छाङरु गाउँका ९० परिवार तथा तिङ्कर गाउँमा बसोबास गर्ने करीब ६० परिवारलाई बसाइँ सर्न समस्या हुँदै आएको छ ।
भारतीय सीमा नजिकको छाङरु गाउँ तथा तिब्बत सीमानजिकको तिङ्कर गाउँमा शौका समुदायको बसोबास छ । उनीहरु हिउँदमा कात्तिकदेखि चैतसम्म दार्चुला सदरमुकाम खलङ्गा बसाइँ सर्ने तथा हिउँ पग्लेपछि गर्मी यामको वैशाखदेखि असोजसम्म व्यास क्षेत्र उक्लिदै आएका थिए ।
झण्डै ४० वर्षअघि सो क्षेत्रमा पहिलो पटक घोडेटो बाटो निर्माण गरिएको थियो । बर्सेनी हिमपातसँगै पहिरो खस्दा बाटो अवरुद्ध हुँदै आएको थियो । त्यसैमाथि महाकालीको बाढीले बाटोको निसानै मेटाइ दिँदा त्यहाँका बासिन्दा पछिल्लो समय खलङ्गापारीको भारतीय क्षेत्र धारचुलाहुँदै भारतकै बाटो प्रयोग गरी पैदल छाङरु र तिङ्कर आवतजावत गर्न बाध्य थिए ।
बजेट अभावसँगै पहरा फुटाउन पर्याप्त जनशक्ति जुटाउन नसक्दा शौका समुदाय निकै दुःख गरेर बर्सेनी कुञ्चा (बसाइँ सर्नु) जाने गरेको थियो । नेपाली सेनाले पहरो फाडेर बाटो बनाएपछि अब शौका समुदायलाई आफ्नै नेपाली भूमि भएर गाउँ फर्कन सहज भएको छ ।
अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्मसमेत राखिएको छ । बाटो नभएकै कारण स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि दार्चुला सदरमुकामदेखि हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्नुपरेको थियो ।
शौका समुदायलाई गाउँ फर्किन कठिनाई भएपछि सरकारले सो क्षेत्रमा बाटो बनाउने जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो । जेठ दोस्रो साता तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरिएको उक्त बाटो निर्माणको काम वर्षात्का कारण केही समय प्रभावित भएको थियो । अब लगत्तै नेपाली सेनाले महाकाली करिडोरको सडक निर्माण थाल्नेछ ।