अत्तरिया - सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जना नयाँ कोेरोना संक्रमित थपिएका छन् । प्रदेशका बिभिन्न प्रयोगशाखा मार्फत भएको परिक्षणमा ७५ नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पाँच सय ४७ जनाको कोरोना परीक्षण गरिएकोमा ७२ जनामा संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका गोदावरी नगरपालिकाका ५ जना, धनगढी उपमहानगरपालिकाका ३२ , टीकापुर नगरपालिकाका ८ जना , जोशीपुर गाउँपालिका, गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, महाकाली नगरपालिकाका ५ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका दुई जना र एक जना स्थानीय तह नखुलेका रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै डडेल्घुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६४ जनाको कोरोना परीक्षण गर्दा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा अमरगढी नगरपालिका वडा नम्बर ८ का १ जना र धनुषा घर भएर डडेल्धुरामा बस्दै आएका १ जना रहेको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनि गणेजुकाले जानकारी दिए ।
उता बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङ प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पुष्टि भएको हो ।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ७ सय ६२ पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ।