अत्तरिया - सुदूरपश्चिमका आज एकै दिन १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न चार वटा प्रयोगशालामा गरिएको परिक्षणमा १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पताल गरिएको परिक्षणमा धनगढी उप–महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका १÷१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी दिए । यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको सायल र आदर्श गाउँपालिकाका दुईरदुई जना र अछामको चौरपाटी र कमलबजारका एकरएक जनामा संक्रमण पुष्टि भएको हो । यसैगरि उता बैतडी र दार्चुलामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालमा पछिल्लो २४ घण्टामा ४४ जनाको परीक्षण गरिएकोमा दुवै जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाले दार्चुलाको महाकाली नगरपालिकाका ११ पुरुष र तीन महिला गरी १४ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै लेकम गाउँपालिका, बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ र सिगास गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यो संगै सुदूरपश्चिममा कुल कोरोना संक्रमितको संख्या सात हजार ६ सय ९० पुगेको छ भने ६ हजार दुई सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ।