अत्तरिया - कैलालीको गोदावरी नगरपालिका २ जना सहित सुदूरपश्चिमभरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा रहेका बिभिन्न चार वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेहरुमा गोदावरीका २ जना , धनगढी उप–महानगरपालिका ४ जना , गौरीगंगा नगरपालिका १ जना, चुरे गाउँपालिका १ जना र भजनी नगरपालिकाका चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कञ्चनपुरको बेलौरीका एक जना , पुनरवासका दुई जना, महाकालीका एक जना, डडेल्धुराको परशुरामका एक जना र डोटीको बडिकेदारका दुई जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षीय पुरुष रहेका छन् । यसैगरि डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण ७ जनामा संक्रमण पुष्टि भएको छ ।
अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ५ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षण्मा भने सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय ७० पुगेको छ ।