दार्चुला - नेपाली सेनाले व्याँस गाउँपालिकाको घाँटीबगरदेखि छाङरु जोड्ने कडा चट्टानी भीरमा घोरेटो बाटोको ट्रयाक खुलाएको छ । गत जेठ ९ गतेबाट काम शुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्रयाक खुलाउने काम सकेको हो ।
कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकुल मौसम र निर्माण सामाग्री ढुवानीमा ढिलाई हुदा दुई महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ शुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो । चट्टानी भीर फुटाएर खुलाइएको ट्रयाकमा सफाइको काम समेत सकिएको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपति बिक्रम देब थापाले जानकारी दिनुभयो ।
यो बाटो खुलेसँगै व्याँसवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ । व्याँसको छाङरु र तिङ्कर गाउँमा बसोबास रहेका झण्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुञ्चा सर्न सहज हुने सेनाले जनाएको छ । व्याँसीहरु हरेक वर्ष छ महिना व्याँस र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न गाउँ उक्लिएका व्याँसी चिसो बढेपछि पुनः मंसिर पहिलो साता खलंगा झर्ने गर्दछन् ।
विगतमा नेपालतर्फ बाटो नहुदा व्याँसीहरुले भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए । यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकोले व्याँसीहरुलाई गाउँ फर्किन समस्या भएको थियो । घोरेटो बाटो निर्माण भएसंगै व्याँस पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने व्याँस गाउँपालिका–१ का स्थानीय नगेन्द्र तिकंरीले जानकारी दिनुभयो । चट्टानी भूगोलले काममा केहि ढिलाई भएपनि स्थानीयको लागि सहज रुपमा आवतजावत गर्न मिल्ने गरी बाटो निर्माण भएको तिकंरीले बताउनुभयो ।
घाँटीबगरमा सेनाले बाटो निर्माण सम्पन्न गरेपनि तम्बाकु भीर क्षेत्रमा जोखिम कायमै रहेको व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले जानकारी दिनुभयो । घाँटीबगरमा सेना बसेको क्याम्पको तल ठूलो पहिरो गएको छ । त्यो क्षेत्रमा पनि आवत जावत गर्न निकै जोखिम छ, वडाअध्यक्ष बोहराले भन्नुभयो, तम्बाकु भीरमा व्याँस गाउँपालिकाको बजेटमार्फत बाटो खुलाउने काम भएपनि कडा चट्टान भएकोले खुल्ने सम्भावना छैन् ।
यो क्षेत्रमा अहिले पनि ज्यानको बाँजी लगाएर तारको सहारामा चट्टानी भूभागमार्फत नदी पार गर्नुपर्ने बाध्यता रहेको छ । तम्बाकु नजिकको क्षेत्रमा बाटो निर्माण नगरेरै कुञ्चा सर्न सकिने सम्भावना नरहेको व्याँसका स्थानीय पार्वती तिकंरीले बताउनुभयो । तम्बाकु भीरमा बाटो निर्माणका लागि केन्द्रमा सिफारिस गरेको भएपछि निर्णय भइनसकेको दुर्गादल गुल्म दार्चुलाले जनाएको छ ।
सरकारले दार्चुला तिङ्कर सडक अन्तर्गत व्याँस गाउँपालिका–२ कोठेधारदेखि तिङ्करसम्मको ८७ किलोमिटर क्षेत्रमा सडक निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिएको छ ।
घोरेटो बाटो खुलाएको सेनाले केहि दिनपछि तिङ्कर सडक निर्माणको काम थाल्नेगरी तयारी भइरहेको गुल्मपति थापाले बताउनुभयो ।
सडक निर्माणका लागि टेण्डर र परामर्शदातामार्फत विस्तृत आयोजना अद्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ । दुई ठाउँमा क्याम्प राखेर सडक निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।