बैतडी - क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । २५ जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ५८ जना कैदीबन्दी छन् ।
जसमा ३१ कैदी र २७ थुनुवा रहेका जेलर अनिल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार“ क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ”
कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा संक्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको जेलर तिवारीको भनाई छ ।
कारागारमा शंकास्पद १० कैदी र सबै थुनुवाको र १० जना कारागारका कर्मचारी र सुरक्षाकर्मीको पिसिआर परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । यद्दपी गत जेठ ९ गते बैतडीका पहिलो कोरोना संक्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक रहेका थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमणको जोखिम हुनुका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपुर्ती गर्न , शौचालय र बस्नको लागि पनि ठाउँ साघुँरो रहेको जेलर तिवारीले बताउनुभयो । उहाँलो भन्नुुभयो“ कोरोना भाइरसको संक्रमण नहोस भनेर सावधानी अपनाएपनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टाइन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।
” कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टाइन बनाएको भएपनि बैतडीमा पनि आवश्यक रहेपनि निर्माण गर्न नसकिएको हो । “क्वारेन्टाइन तथा आइसोलेसन बनाउन हामीसंग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन्” जेलर तिवारीले भन्नुुभयो ।
कारागार कार्यालयले हाल कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिईएको छैन् भने संक्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ ।
बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ ।