महेन्द्रनगर- सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारी धनीले आइतबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् ।
सडकमा सवारी साधन गुडाए वापत नगरपालिका कार्यालयले कर लिन थालेपछि सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सडक अवरुद्ध हुँदा मध्यान्ह देखि सडकमा सवारी साधन सञ्चालन हुन सकेका छैन । नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि रु १० लाखमा ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारी धनीहरुको भनाई रहेको छ । ट्रक, ट्याक्टर, अटो रिक्सा, जीप लगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सवारी धनीहरुले पूर्व पश्चिम राजर्माग अबरुद्ध गरेका छन् । ठेकेदारले नगरपालिका भित्रका सडकमा गुडने सवारी र ढुवानीका साधनबाट रु ५० देखि रु एक सय रकम सम्म असुल्न थालेका छन् । स्थानिय सवारी धनीहरुले ठेकेदार मार्फत नगरपालिकाले चर्को शुःल्क लगाएकाले त्यसका विरुद्ध आन्दोलन गरिएको बताए ।
नगरपालिकाले सवारी साधनबाट शुःल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने हरि बहादुर गैरालले बताए । गैरालको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ ।
कृषि प्रयोजनका सवारी गुडाए वापत नगरपालिकाले लिने कर विरुद्ध दवाव दिन संघर्ष समिति गठन गरिएको बताइएको छ । गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।
नगर प्रमुख कर्ण बहादुर हमालले नेपालको संविधान र स्थानिय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुःल्कका लागि ठेक्का सम्झौता गरिएको बताए ।
नेपाली काँग्रेसको नेतृत्वमा गरिएको सडक अबरुद्ध गर्ने लगायतका कार्यले जनताले सास्ती पाएका छन उनले भने, ‘अभद्र र असौहार्द वातावरणमा गरिएको आन्दोलनको कुनै अर्थ छैन ।’
नगरपालिका कार्यालयमा दिईएको प्रेस विज्ञप्तिमा आन्दोलनकर्ताको नेतृत्वकर्ता कोहो भन्ने कुरानै उल्लेख छैन ।
‘विज्ञप्तमा हस्ताक्षर मात्रै गरिएको छ नाम उल्लेख छैन नगर प्रमुख हमालले भने, आन्दोलनका नेतृत्वकर्ता को हो बार्ताका लागि आउनोस भनेका छौं ।
वार्ताबाटै समस्या समाधान हुने भएकाले यसका लागि नगरपालिकाका तर्फबाट आव्हन गरिएको छ’ उनले भने ।