बैतडी - जिल्लाको सुर्नया गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गर्दा १ लाख बढीका बराबरका म्याद सकिएका सामग्री बरामद गरि नष्ट गरिएको छ ।
संयुक्त बजार अनुगमन समितिले पालिकाका सबै बजार क्षेत्रमा अनुगमन गर्दा १ लाख १ हजार ६ सय ९० रुपैंया बराबरका म्याद सकिएका सामग्री बरामद गरि नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए ।
उनले भने ‘हामीले लगातार तिन दिन सम्म सुर्नयाका बजारमा अनुगमन गरयौं । त्यहाँ करीब एक लाख बराबरको म्याद गुज्रेको सामग्री फेला पारेर नष्ट गरेका छौं ।’
गाउँपालिकाको सतबाँझ, धरमघर, श्रीभावर, ढोले, कठेगौंडा, सनेशेरीमाण्डौ लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको लेखकले बताए। अनुगमनका क्रममा बियर, पिठो, खानेतेल,चाउचाउ, बिस्कुट, नम्कीन लगायतका सामग्री बढी मात्रामा म्याद नाघेका पाइएका हो ।
अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्यसूची नराखिएको, दर्ता नभएको पाइएकाले यथाशीघ्र प्रक्रियामा आउन व्यापारीहरुलाई आग्रह गरिएको छ ।
जिल्लाका १० ओटै स्थानीय तहका मुख्य बजारमा अनुगमन गर्न कार्यसूची रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख लेखकले बताए ।
चाडपर्व पनि नजिक आएकाले अनुगमन कार्यलाई अझै प्रभावकारी बनाइने संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।