काभ्रेपलाञ्चोक – यहाँ हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् ।
थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।
पोष्टका अनुसार मङ्गलबारको परीक्षणमा थप पाँचखाल–५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई÷दुईमा कोरोना सङ्क्रमण देखिएको छ।
नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो ।
पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो । नेपाली सेनाले ‘मिसन’मा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ ।
नेपाली सेनाले आफ्नै व्यवस्थापनमार्फत पाँचखालको सङ्क्रमण रोक्ने प्रयास भइरहेको जनाइएको छ । यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना सङ्क्रमण देखिएको थियो।
हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।
जिल्लामा हालसम्म ५४१ मा कोरोना सङ्क्रमण देखिएको छ । पोष्टका अनुसार कूल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन् ।
१९५ सक्रिय सङ्क्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन्।रासस