हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ।उनको आज (सोमबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।
उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरे ।सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नुभएका शेर्पाको त्यो अन्तिम आरोहण थियो ।
सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।
आङ्रिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मनुभएका आङ्रिताको पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लाग्नुभएको थियो । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गर्नुभएका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेक्नुभएको थियो ।
आरोहणका क्रममै रहनुभएका आङ्रिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानाको मुख्य कारण उहाँ बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बस्नुभएका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा ९वीरेन्द्र० ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उहाँ आरोहणमा नगएको परिवारको भनाइ छ ।
त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित हुनुभएको थियो ।
दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उहाँकी छोरी डोमाले बताउनुभयो ।
यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक रु १५ हजार दिँदै आएको छ । आङ्रिताका तीन छोरा र एक छोरी छन् ।
जेठ छोरा कर्साङ आरोहण पेशामै हुनुहुन्थ्यो । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा हुनुहुन्छ र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्नुहुन्छ । छोरी डोमा जोरपाटीमा हुनुहुन्छ । आङरिता उनै छोरीसँग बस्दै आउनुभएको थियो । उहाँको सात वर्षअघि पत्नीको निधन भएको थियो ।