अत्तरिया - स्थानिय तहमा जनप्रनिधि आएको तिन बर्ष पुरा भैसकेको छ । ५ बर्षका लागि निर्वाचित भएका ति जनप्रतिनिधिको कार्यकाल सकिन अब २ बर्ष मात्रै बाकिँ रहेको छ । झण्डै २० बर्षको अन्तराल पछि स्थानियहरुले गाउँ गाउँमा जनप्रतिनिधिहरु पाएका छन् । सिंह दरबारको अधिकार गाउँ गाउँमा भन्ने नारा लगाउदै जनप्रतिनिधिहरु आएपनि सर्वसाधारणले भने त्यसको अनुभूति समेत गर्न नपाएको गुनासो गरिरहेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएको सुरुको बर्ष नै नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र अत्तरिया बजारलाई स्मार्ट सिटिका रुपमा अगाडी बढाउने योजना ल्याइरहेका थिए । सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लालाई जोड्ने प्रमुख केन्द्र रुपमा रहेको अत्तरिया बजारलाई स्मार्ट सिटिको रुपमा बिकास गर्न तत्तसम्बन्धी आवश्यक पूर्वाधार निर्माण गरिने र यसका लागि संघ र प्रदेश सरकारसंग सहकार्यात्मक विकास निति लिइने छ भन्ने नगरपालिकाका बार्षिक निति तथा कार्यक्रममै लेखिएको छ ।
हरेक बर्षको बार्षिक निति तथा कार्यक्रममा त्यही योजना दोहोरिने तर काम भने नगर्ने प्रबृतिले अत्तरिया बजार अहिले झन अब्यबस्थित भएको छ । बजारको मुख्य चोकको अबस्था हेर्ने हो भने पुरै नाजुक बनेको छ । सडक फुटेर टुक्राटुक्रा भएको छ भने पुराना नालीहरुको माथि फोहोर र घाँसले भरिदा झन झन कुरुप बनेको छ ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी समेत घोषणा गरिएको यस नगरपालिकाको मुख्य बजार क्षेत्रमा समान्य ढल निकासको सुबिधा समेत छैन । समान्य बर्षातको बेला बजार पुरै जलमग्न हुने गरेको छ । यसले गर्दा बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण देखी ब्यापारीहरु निकै हैरान भैसकेका छन् । बजार क्षेत्रमा ढल निकासका लागि बनाइएका पुराना नालीहरु सबै भताभुङग भएका छन् ।
वडा नं १ र २ मा पर्ने अत्तरियाका पुराना नालीहरु सबै भताभुङग भएपछि बजार क्षेत्रमा जम्मा हुने पानी निकास हुन नपाउदा पुरै डुवानमा पर्ने गरेको ब्यापारीहरु बताउँदछन् । गोदावरी चेम्बर अफ कर्मशका महासचिब समेत रहेको अत्तरियाका ब्यापारी लिलाराम सापकोटाले जनप्रतिनिधि आएपछि अत्तरिया बजारको मुहार फेरिने आशा गरेपनि त्यो आशा अझ निराशामा परिणत भएको बताए । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिए पछि सबैको ध्यान केन्द्रित भएका बेला स्थानिय सरकार भने मुखर्दशक बनेको उनले बताए ।
उनले अहिले अत्तरियाको प्रमुख चुनौतीका रुपमा ढल निकास र सडकको रहेको नगरपालिकालाई संस्थाका तर्फवाट पटक पटक जानकारी गराएको भएपनि ध्यान जान नसकेको गुनासो गरे । यस्तै अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले कागजमा स्मार्ट सिटि बनाउने लेखेर नहुने लेखिएको कुराहरुलाई कार्यन्व्यन गर्न नगरपालिका अग्रसर हुनुपर्ने बताए । उनले अहिले सम्पूर्ण अधिकार नगरपालिकासंग हुदा बजार क्षेत्रको विकासका लागि केही हुन नसकेको बताए ।
नगरपालिकाले बार्षिय रुपमा अत्तरियाका ब्यबसायिहरुवाट कर लिदै आएको भएपनि शान्त , सुन्दर र ब्यबास्थित बनाउन नसकेको बताए । दिनदिनै चोरीका घटनाहरु बढीरहेका छन् रातिको समयमा एउटा चौकिदार राख्न सकिएको छैन , बर्खाको त कुरै छाडौ हिउँदको सानो पानीले पनि बजार जलमग्न हुने र पसलहरु डुवानमन परेर ब्यापारीहरुलाई निकै दुख भैरहेको छ' उनले भने - 'यही बाटो भएर नगरपालिकाका जनप्रतिनिधि देखी प्रदेश र संघिय सरकारका मन्त्री र सांसदहरु आवतजावत गर्छन सडको अबस्था भताभुङ्ग छ तर कसैको पनि यस तर्फ ध्यान जान सकेको छैन ।' यस तर्फ उधोग वाणिज्य संघ पनि साथमा रहेको र पटक पटक आग्रह गर्दा पनि कसैले नसुन्ने गरेको उनको भनाई छ ।
उता गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले आफुहरु निर्वाचित भैसकेपछि अत्तरिया बजारलाई ब्यबस्थित शहरका रुपमा विकास गर्ने योजना बनाएको भएपनि सडक डिभिजनले गर्दा काम गर्न नसकिएको बताए ।
'हामीले योजना बनाएर त्यही अनुसार काम गर्ने त भनेका हौ तर अहिले अत्तरिया धनगढी ६ लेन सडक पनि निर्माणाधिन अबस्थामा छ , यसैगरि अत्तरिया चोक देखि चिसापानी सम्म ४ लेन सडक बनाउने काम पनि भैरहेको उनले भने - 'अब हामीले चोकको मात्रै काम गरेर पछि सडक बन्दा सबै भत्काउनुपर्छ त्यसैले काम गर्न समस्या भएको हो ।
उनले सडक डिभिजनको एउटा योजना र नगरपालिकाको अर्का योजना हुने गरेका कारण केही दिनका लागि मात्रै ठूलो लगानी लगाएर काम नहुने बताए । यसका लागि सडक डिभिजनसंग पनि कुराकानी भैरहेको बताउदै उनले दुवै तर्फका सडक निर्माणको काम सम्पन्न भएपछि ढल निकास देखी अन्य कामहरु ग्र्दै अत्तरिया बजारलाई ब्यवस्थित बनाइने गोदावरी न्युजलाई जानकारी दिए ।