धनगढी - कैलालीमा जारी निषेधाज्ञा फेरी लम्ब्याइएको छ । पछिल्लो पटक थप गरेको निषेधाज्ञा गएराति राति १२ बजेदेखि सकिएकाले जिल्ला प्रशासन कार्यालय कैलालीले नयाँ आदेश जारी गर्दै निषेधाज्ञा लम्ब्याएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै आजदेखी लागू हुने गरि अर्को आदेश जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग २०२० बमोजिक थप खुकुलो पार्दै निषेधाज्ञालाई लम्ब्याईएको छ । आदेश अनुसार राति १० बजे देखि विहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाइएको छ । सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ भने ५० प्रतिशत यात्रु मात्रै बोक्न पाईने भएको छ ।
व्यापार व्यवसाय भने यथावत रुपमा सञ्चालन हुने छ भने आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि होटल रेष्टुरेन्ट भीडभाड नहुने गरी सञ्चालन गर्न पाईनेछ । शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न नपाइने भएको छ ।
आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु , मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न नपाईने आदेशमा उल्लेख गरिएको छ । यसैगरि बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गरि भीडभाड नहुने गरी नेपाल राष्ट बैंक धनगढी धनगढीको निर्देशन बमोजिम संचालन गर्न सकिने छ ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले थप ब्यबस्थित हुने गरि सजकता अपनाई कार्यालय सचालनको ब्यबस्था मिलाउन जारी आदेशमा भनिएको छ ।