डडेल्धुरा - जिल्ला सदरमुकामस्थित भीमदत्त राजमार्ग फराकिलो गर्ने विषयमा उत्पन्न विवादका बीच अमरगढी नगरपालिका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझा र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सडक क्षेत्रमा घरजग्गा रहेका स्थानीयले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी थालेका हुन् । सर्वाेच्च अदालतको फैसला विपरीत सदरमुकाम क्षेत्रमा सडकको टेन्डर खोल्न लगाएको भन्दै अमरगढी नगरपालिका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत उपाध्यायविरुद्ध अदालतको मानहानी सम्बन्धी मुद्दा दर्ता गरिन थालिएको हो ।
सडक क्षेत्रमा घरजग्गा भएका सदरमुकाम क्षेत्रका बासिन्दाहरुद्वारा गठित सडक मुआब्जा संघर्ष समिति डडेल्धुराले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्नेमा सो विपरीत अमरगढी नगरपालिकाले काम गरिरहेको जिकिर गरी सो कार्यबाट अदालतको मानहानी भएको दाबी गर्दै मुद्दा दर्ता गर्ने निर्णय गरिएको संघर्ष समितिले जनाएको छ ।
सडक क्षेत्रमा रहेका घरजग्गाधनीलाई मुआब्जा दिलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराई पाऊँ भनी सडक मुआब्जा संघर्ष समिति डडेल्धुरा सम्बद्ध ४० जनाले मुद्दा दर्ता गर्ने निर्णय गरिसकेको र प्रक्रिया अघि बढाइको संघर्ष समितिका संयोजक दुर्लभसिंह झुकालले बताए ।
संघर्ष समितिले मुद्दा दर्ताका लागि कानुन व्यवसायीलाई जिम्मा दिइसकेको जनाएको छ । कानुन व्यवसायीहरुले मुद्दा तयार गरिसकेको तर हाल कोरोना महामारीका कारण सर्वोच्च अदालतमा भिडभाड गर्न निषेध गरिएकाले केही दिनभित्रै मुद्दा दर्ता हुने बताएका छन् ।
अदालतको फैसला कार्यान्वयनमा सघाउनुपर्ने बेलामा नगर प्रमुख ओझा र प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले सडक फराकिलो बनाउन कुनै विवाद नभएको बताउँदै टेन्डर प्रक्रियामा सघाएकाले मुद्दा दर्ता गर्नुको विकल्प नभएको संघर्ष समितिले जनाएको छ ।
भदौ २५ गते अमरगढी नगरपालिकाले सडकको क्षेत्रधिकारभित्रका टहरा हटाउन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।