महेन्द्रनगर - कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका बन्द र लकडाउन लगाउँदा भारतबाट स्वदेश फर्किनेहरूको चाप रहेको कञ्चनपुरको गड्डाचौकी र डोकेबजारस्थित गौरीफन्टा नाकामा यतिबेला मजदूरीका लागि भारत जानेहरूको चाप बढ्दै गएको छ ।
भारतमा दैनिक ८० हजारभन्दा बढी संक्रमित थपिनुका साथै दिनहुँ हजारौंको संख्यामा कोरोना संक्रमणबाट मृत्यु भइरहेको खबर आइरहेका बेला स्वदेशमा रोजगारी नभएपछि बाध्य भएर यहाँका युवा मजदूरीका लागि भारत जानुपरेको बताउँछन् । सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधिमा करीब डेढ लाख मानिस स्वदेश फर्किएको तथ्यांक छ ।
स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनुका साथै आफूहरूको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरूको भनाइ छ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजारलाई तत्काल स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि रोजगारीका लागि पुनः भारत जाने क्रम बढ्दैछ । सरकारले प्रदेशका ९ ओटा जिल्लाका ८८ ओटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमा रोजगारीका लागि आवेदन दिन आह्वान समेत गरेको छ ।
सरकारले कृषि तथा पशुपक्षी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई आवेदन दिन आगामी असोज ६ गतेसम्मको समय तोकेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले बताएको छ । ‘यहाँ आवेदन दिनेको भीड नै लागेको छ ।’ कृषि ज्ञान केन्द्र महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले भने, ‘अहिलेसम्म ३०० भन्दा बढीले आवेदन दिइसकेका छन् ।’ उनले आवदेन दिएका सबैलाई सरकारले सम्बोधन गर्न भने सम्भव नरहेको बताए ।
प्रदेश सरकारले ९ हजार जनालाई स्वरोजगार तथा रोजगारी दिने योजना बनाएको छ । हालै जारी सूचना अनुसार तरकारीखेती, च्याउखेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूलखेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस तथा अन्य मासुजन्य पक्षीपालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० ओटा कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई कार्यक्रम दिने भनेको छ । लामो समय लकडाउन हुँदा भोक टार्न समेत समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्त नगरपालिका–१३ का सन्त सुनारले बताए ।
‘सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ तर हामीसित अहिले नै छाक टार्न चामल छैन’, लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने, ‘सरकारले दिने भनेको रोजगारी पाउने बेलासम्म नै के खाने भन्ने समस्या छ । यतिबेला भारत बस्नुपर्ने हाम्रो बाध्यता हो ।’ उनले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरू विदेशिन बाध्य रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक ५०० देखि ६०० नेपाली भारततर्फ रोजगारीका लागि जान थालेको बताएको छ । ‘आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीहरूलाई भारत लगिरहेको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने ।
त्यसैगरी गड्डाचौकी नाकाबाट भारत गइरहेका कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले लकडाउनमा परिवार पाल्न धौ–धौ भएकाले भारत जान लागेको बताए ।
‘लकडाउनकै बेला कोरोनाको त्रासले घर फर्किएँ, अब पनि यहाँ बसेर गुजारा चल्ने नदेखेपछि उतैतिर लागियो’ उनले भने, ‘अहिले परिवारको लालनपालनका लागि भारत जानुको अर्को विकल्प रहेन ।’ रासस