धनगढी -स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् ।
सुदूरपश्चिम प्रदेशभित्रका ८८ वटा स्थानीय तहहरुमध्ये तीन स्थानीय तहले अझै बजेट नल्याएको स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बाजुराको गुढीगंगा नगरपालिका, बझाङ्गको बुङ्गल नगरपालिका र बैतडीको शिवनाथ गाउँपालिकाले अहिलेसम्म पनि स्थानीय सभामा वजेट पेश नगरेको मन्त्रालयले विवरणमा उल्लेख छ । मन्त्रालयको वेबसाइटमा राखिएको ‘स्थानीय तहको बजेट’ विवरणमा देशभरीका ४७ स्थानीय तहले हालसम्म पनि बजेट तथा कार्यक्रम स्थानीय सभामा पेश नगरेको उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये १६ स्थानीय तहले कानूनले तोकेको समयभन्दा ढिलो गरी बजेट ल्याएका छन् ।दार्चुलाका चार, कञ्चनपुरका तीन, बैतडीका तीन, बझाङ्ग, अछाम र बाजुराका एक/एक स्थानीय तहले समयमै बजेट ल्याउन नसकेका हुन् ।
दार्चुलाका अपीहिमाल गाउँपालिकाले असार १४ गते स्थानीय सभामा वजेट पेश गरेको छ । यस्तै, व्यास गाउँपालिकाले असार ३१, मालिकार्जुन गाउँपालिकाले असार २५ र लेकम गाउँपालिकाले साउन ११ गते सभामा बजेट पेश गरेका हुन् ।
कञ्चनपुरको बैलौरी नगरपालिकाले असार १९ गते, बेल्डाँडी गाउँपालिकाले असार १२ र कृष्णपुर नगरपालिकाले असार ३१ गते बजेट पेश गरेका छन् ।बैतडीको पाटन नगरपालिकाले पनि समयमै बजेट पेश गर्न सकेको छैन ।
यस नगरपालिकाको बजेट तथा कार्यक्रम साउन १५ गते मात्रै नगरसभामा पेश भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखमा छ । पाटन नगरपालिकाका प्रमुख नेपाल नगरपालिका संघ, सुदूरपश्चिम प्रदेश समितिका प्रमुख पनि हुन् ।
यस्तै बैतडीकै दशरथचन्द नगरपालिकाले असार २६ गते र पञ्चेश्वर गाउँपालिकाले असार २५ गते मात्रै बजेट ल्याएका छन् ।बाजुराको बुढीनन्दा नगरपालिकाले असार १२ गते, अछामको रामारोसन गाउँपालिकाले साउन २२ गते र बझाङ्गको तलकोट गाउँपालिकाले असार १२ गते बजेट ल्याएका छन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिका, बझाङ्गको साईपाल गाउँपालिका र डडेल्धुराको परशुराम नगरपालिकाले भने असार १० गते अगावै स्थानीय सभामा बजेट पेश गरिसकेको मन्त्रालयको विवरणमा उल्लेख छ ।