डोटी - जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले यही भदौ १४ गते राति १२ बजेदेखि जारी गरेको निषेधाज्ञा आज देखी खुकुलो पारिएको हो ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
भदौ १४ गते एक साताका लागि लगाइएको निषेधाज्ञा एक साता पुनः थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ । आज देखि जिल्लामा हुने व्यापार व्यवसाय स्वास्थ्य साबधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने, सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने विज्ञप्तिमा उल्लेख छ ।
सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरु, निजी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, बैंक र वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने बताइएको छ । होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने व्यवस्था गरिएको छ ।
अर्को व्यवस्था नभएसम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मिक कार्य, मेला महोत्सव नगर्ने र मनोरञ्जनात्मक कार्य नपाइने बिज्ञप्तीमा उल्लेख छ ।
यस्तै सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्ने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक मेला पर्व लगाउन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख छ । अनुमति लिन नपर्ने सवारी साधनहरुबाहेक जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनहरुले अनुमति विना प्रवेश गर्न पाउने छैनन् ।