बैतडी- कञ्चनपुरदेखि बैतडीहुँदै दार्चुलाको तिङ्कर जोड्ने राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको महाकली करिडोरमा पर्याप्त बजेट बिनियोजित भएको छ । जस अन्तरगत अर्थमन्त्रालयले ९० करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । न्यून बजेटका कारण ढिलो गतिमा अघि बढेको महाकाली करिडोरमा बहुवर्षिय ठेक्काका लागि आयोजनाले मन्त्रालयमा एक अर्ब रुपियाँ प्रस्ताव गरेको थियो ।
कञ्चनपुरको ब्रम्हदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको खलंगासम्म २९१ किलोमिटर सकड रहेको छ । कञ्चनपुरमा ११, डडेल्धुरामा ५८, बैतडीमा १४४ र दार्चुलामा ७८ गरि कुल २९१ किलोमिटर सडक मध्ये सबैभन्दा बढी हिस्सा बैतडीमा पर्दछ । तर, न्यून बजेट हुँदा २०७२/२०७३ देखि २०७७ सम्म आईपुग्दा डडेल्धुरामा ११ किमि, बैतडीमा ५८ र दार्चुलामा २० गरि जम्मा ८९ किलो मिटर मात्र सडकको ट्रयाक खुलेको छ ।
२०६५/२०६६ मा सुरु भएको महाकाली करिडोरकै दार्चुला खलंगाबाट तिङ्करसम्मको १३४ किलोमिटर मध्ये हालसम्म नेपाली सेनाले ८७ र आयोजनाले ४३ किलोमिटर गरि १३० किलोमिटर सडकको ट्रयाक खोलिसकेको छ ।२०६५/२०६६ मा दार्चुलाको खलंगाबाट तिङ्कर जोड्न सडक निर्माणको काम सुरु भएको थियो ।
त्यसपछि २०७२/२०७३ मा कञ्चनपुरदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला खलंगासम्मको २९१ किलोमिटर सर्भे भएर काम सुरु भएको थियो । यसअघि न्यून बजेट हुँदा करिडोरले गति लिन नसकको आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए । ‘अर्थ मन्त्रालयले बल्ल ९० करोड रुपियाँ स्वीकृत गरेको छ,’ इन्जिनियर रैखोलाले भने ,‘यसअघि यति धेरै बजेट कहिल्यै आएको थिएन ।’
कञ्चनपुुरदेखि दार्चुलाको तिङ्करसम्म सडकको कुल लम्बाई ४२५ किलोमिटर रहेकको छ । करिडोरको दार्चुला खलंगाबाट तिङ्करसम्मको १३४ किलो मिटर मध्ये हालसम्म १३० किलोमिटर र डडेल्धुरा, बैतडी र दार्चुलामा ८९ किलोमिटर गरि २१९ किलोमिटर ट्रयाक खुलेको महाकाली करिडोर, दार्चुला–तिङ्कर सडक आयोजनाका ईञ्जिनियर दिनेश रैखोलाले बताए । करिडोरमा अहिलेसम्म एक अर्ब ४४ करोड रुपियाँ खर्च भईसकेको उनको भनाई छ ।
चालूआर्थिक वर्षमा अर्थ अर्थमन्त्रालयले ९० करोड रुपियाँ बजेट स्वीकृत गरेपछि बहुवर्षिय ठेक्का आह्वन गरेर द्रूत गतिमा काम अघि बढ्ने करिडोरका इन्जिनियर दिनेश रैखोलाले बताए ।