कञ्चनपुर - जिल्लाका दुई वटा स्थानिय तह भीमदत्त र महाकाली नगरपालिका जोड्न महाकाली नदीमाथि निर्माण गरिएकोे मल्टिस्पान झोलुङ्गे पुल जिर्ण बन्दै गएको छ । पुलका विभिन्न ठाउँमा स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गलहरु टुटेको र ठाउँठाउँमा पुल ठड्याउन राखिएका नट बोल्टहरु खसेका कारण झोलुङ्गे पुल जिर्ण बन्दै गएको हो ।
यसले गर्दा जुनसुकै बेला पनि दुर्घटना निम्तिने सक्ने खतरा बढेको छ । पुलका स्टिल डेकहरु ठाउँठाउँमा टुटे पनि सवारी आवागमन भने जारी छ । पुलमा मोटरसाइकल, साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण बन्दै गएको हो । अहिले भने भारी सामानहरु आवतवाजतमा रोक लागाइएको छ ।
झोलुङ्गे बजार व्यवस्थापन समिति महाकालीले तत्काल पुल मर्मतको माग राख्दै वडाध्यक्ष भक्तबहादुर सुनारलाई ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै समितिका उपाध्यक्ष विराट भट्टले जीर्ण पुलका कारण जुनसुकै बेला पनि दुर्घटना निम्तिने भएकाले तत्काल पुल मर्मत गरिनु पर्ने बताए ।
यता महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले पुल जीर्ण बन्दै गएकाले तत्काल मर्मतका लागि पहल भइरहेको बताए । उनले मर्मतका लागि आवश्यक सामान स्थानीय बजारमा उपलव्ध नहुँदा बुटवलबाट ल्याउन पहल भइरहेको बताए ।
‘पुल मर्मत नहुँदासम्म सचेत भई सावधानीपूर्वक कम भारका साथ कम गतिमा यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेका छौं,’ नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले भने, ‘बढीमा ५० किलोको सामान तथा दुईजनासम्म मात्र साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्न सार्वजनिक सूचना जारी गरी जानकारी दिएका छौं।’
उनका अनुसार अत्यधिक भार भएका सवारी साधन र चौपायाहरुको आवतजावत पूर्ण रुपमा बन्द गराउनका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणलाई आह्वान समेत गरिएको छ । एसियामै लामो झोलुङ्गे पुलका रुपमा रहेका रहेको उक्त पुल ३२ दशमलव ७ मिटरका सात वटा अग्ला टावरमा ठडयाइएको छ । पुल हेर्नका लागि मात्रै देशबिदेशवाट पर्यटकहरु समेत आउने गरेका छन् ।