काठमाडौँ- कोरोना भाइरस संक्रमणबाट यो हप्ता विभिन्न देशमा ४३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार कोरोना संक्रमणबाट थप ४३ जना नेपालीको मृत्यु भएको यो हप्ता पुष्टि भएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार साउदी अरबमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ५२ पुगेको छ । यो सँगै कोरोनाबाट विभिन्न १६ देशमा मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले बताए।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन्।
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।
हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।
६१ हजार ७१० को उद्धार
कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार जारी छ ।
हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० नेपालीको उद्धार गरिएको छ ।
साउदीमा ६० शव अलपत्र
साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ ।
साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।