अत्तरिया - यही भदौ २ गते राति अछामको रामारोशन गाउँपालिका ५ सैनीवजार स्थित कैलाश खोलामा आएको बाढीले ठूलो क्षति पुञ्यायो । अबिरल बर्षासंगै आएको बाढीले सैनीबजार रहेका घर र पसलहरु बगाउदाँ १७ जना बेपत्ता भए । ति मध्ये ८ जनाको शब फेला परेपनि ९ जना भने अझै बेपत्ता नै रहेका छन् ।
बेपत्ता भएदेखी नै सुरक्षा निकायले खोजी गरिरहेको भएपनि अहिले सम्म ९ जनाको अबस्था अज्ञात नै रहेको छ । बाढीले सैनीवजारका करीव ३० पसल, तरकारी संकलन केन्द्र, बिभिन्न संघसंस्थाका कार्यालय पनि बगाएको थियो भने झण्डै एक सय परिवार बिस्थापित भएका छन् । देशभर बाढी पहिरोले बर्सेनि ठूलो जनधनको क्षति पुञ्याउदै आएको छ ।
बेपत्ता भएकाहरू वर्षौंसम्म नभेटिने गरेको तथ्य फेला परेको छ । बाढीले बगाएकाहरू कतिपय बाढीमै बिलाएका छन् । पहिरोले पुरिएकाहरू पहिरोभित्रै हराएका छन्। यसले गर्दा परिवारका सदस्यलाई पीडा हुने गरेको छ । आफन्तले मृतकसरह मानेर काजकिरिया गरे पनि आउने आशा भने मार्न छाड्दैनन् ।
२०६८ सालयता बाढी पहिरोमा परी ८ सय २८ जना बेपत्ता भएका छन् । सबै भन्दा बढी २०७१ सालमा २ सय ६९ जना बेपत्ता भएका थिए । २०७० मा १ सय ६४, २०६८ मा १ सय २९ जना हराएको गृह मन्त्रालयको तथ्यांक छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीका अनुसार यो वर्ष बाढीपहिरोबाट ३ सय जनाको मृत्यु भएको छ । ८९ जना अझै बेपत्ता छन्। बागलुङको ढोरपाटनस्थित भुजी खोलामा हालै आएको बाढीमा १६ जना बेपत्ता छन्।
२२ जनाको शव भेटिएको छ। यही वर्ष सिन्धुपाल्चोकका लिदी, बाह्रबिसे, भोटेकोसी लगायत स्थानमा बाढीपहिरोले २४ जनालाई बेपत्ता बनाएको छ। सिन्धुपाल्चोकमा यही वर्ष ५६ जनाको मृत्यु भएको छ। संखुवासभाको सिलिचोङमा पहिरोमा परेका ११ जना बेपत्ता छन्। म्याग्दीमा ४, कालीकोटमा ६, जाजरकोटमा ५ जना बेपत्ता छन्।
काभ्रेपलाञ्चोक, सुनसरी, सिरहा, गोरखा, तनहुँ, स्याङ्जा, गुल्मी, सल्यान, बझाङमा १÷१ जना बेपत्ता छन्। यो वर्ष बेपत्ता भएकाहरू अझै भेटिने सम्भावना रहेको उपसचिव अवस्थीले बताए। सिन्धुपाल्चोकमै २०७१ सालमा जुरेको बाढी र पहिरोले १ सय ६० जनालाई बगाएको थियो। जसमा २५ जनाको शव भेटिएको थियो। बाँकी अहिलेसम्म बेपत्ता छन्।
२०७१ साउन १७ गते मांखा र राम्चेको सीमा क्षेत्र जुरेमा पहिरो गएको थियो। बेपत्ता भेटिने सम्भावना न्यून हुन्छ। १० दिनदेखि एक महिनासम्म खोजतलास गरिन्छ। नभेटिए बेपत्ताको सूचीमा राख्ने गरेको जनाइएको छ। ३५ दिनपछि शव नभेटिए मृतकसरह सुविधा दिने निर्णय पनि सरकारले गरेको छ।
स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी मृत्युसरह राहत उपलब्ध गराउने नीतिगत निर्णय भएको उनले सुनाए। मन्त्रालयले यस वर्ष मनसुनमा बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि मृतसरह मान्ने व्यवस्था गरेको उनको भनाइ छ।