काठमाडौं - संसारभर अहिले कोरोना भाइरसको महामारी छ । यसको भ्याक्सिन कहिले बन्छ र यस समस्याबाट छुटकारा पाइन्छ भन्ने प्रतिक्षामा विश्व नै ५ अहिले ।विश्वका विभिन्न देशका वैज्ञानिकहरु अहिले कोरोनाविरुद्धको भ्याक्सिन बनाउने र परीक्षण गर्न लागि परिरहेका छन् । यसबीच अक्सफोर्ड विश्वविद्यालयले तयार पारिएको क्याक्सिनको परीक्षण रोकिएको छ । परीक्षणका क्रममा एक बिरामीमा समस्या देखिएपछि भ्याक्सिनको परीक्षण रोकिएको बताइएको छ ।
खास भएको के थियो ?
बेलायतको औषधि उत्पादक बहुराष्ट्रिय कम्पनी एस्ट्रोजेनेकासँग मिलेर अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको थियो । एस्ट्रोजेनेकाले दिएको जानकारी अनुसार परीक्षणमा सहभागी बिरामी महिलाको मेरुदण्डको हाड अस्वभाविक रुपमा सुन्निएको थियो । यस्तो घटना विरलै देखिन्छ । यसै समस्यापछि भ्याक्सिनको परीक्षण रोकिएको हो । बिरामीको अवस्थामा सुधार आइरहेको र अस्पतालबाट छिट्टै डिस्चार्ज हुने तयारीमा रहेको एस्ट्राजेनेका कम्पनीका कार्यकारी प्रमुखले एक पत्रकार सम्मलनमा जानकारी दिएका छन् ।
एस्ट्रोजेन कम्पनीका प्रवक्ताले परीक्षण इमान्दारीका साथै भएको र यो एउटा अपवादको घटना भएको बताएका छन् । भ्याक्सिन परीक्षणलाई अघि बढाउन र आगामी दिनमा देखा पर्ने अन्य समस्याबारे समीक्षा गर्नका लागि यस घटनाले मद्दत गरेको प्रवक्ताले बताएका छन् ।
कोरोनाको भ्याक्सिन निर्माण कार्य रोकिएको छ । यस घटनाले एस्ट्रोजेनेकाले गरिरहेका अन्य भ्याक्सिन परीक्षणमा पनि असर परिरहेको कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ । कम्पनीले भ्याक्सिन पूरै वैज्ञानिक मापदण्ड पूरा गरि बनाइएको दावी गर्दै आएको छ । भ्याक्सिनको पुनः परीक्षण कहिलेबाट सुरु हुन्छ भन्ने जानकारी नदिइए पनि अर्काे हप्ताबाट सुरु हुन सक्ने केही बेलायती मिडियाहरुले खबर दिएका छन् ।
भ्याक्सिनको परीक्षण रोक्नु पर्ने अवस्था आएपछि विश्व स्वास्थ्य संगठनले परीक्षणमा सहभागीको सुरक्षामा कुनै सम्झौता नहुने बताएको छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिक सौम्या स्वामीनाथन एक वक्तव्यमा भनेका छन् कि ‘हामीलाई छिटै भ्याक्सिन चाहिएको छ । यसको मतलब यो होइनकी सुरक्षाको विषयमा कुनै सम्झौता वा कुनै छुट गुर्नपर्छ।’
यसैबीच कोरोना विरुद्धको विश्वकै पहिलो दाबी गरिएको रुसको खोप सर्वसाधरणका लागि लगाउन सुरु गरिएको छ । मस्कोको सरकारी वेवसाइटमा उल्लेख गरिएअनुसार राजधानीका करिव ४० हजार मानिसलाई यो खोप लगाइनेछ । यो खोप २१ दिनको बीचमा २ पटक लगाइने जनाइएको छ । रोयटर्सबाट