धनगढी - कोरोनाको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिममा विभिन्न जिल्ला र स्थानीय तहमा निषेधाज्ञा लागु गरिएको छ। प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लामा भदौ ५ गतेदेखि बिनाकाम सर्वसाधारणले घरबाहिर निस्कन नपाउने गरी कडा निषेधाज्ञा जारी ग¥यो। घरभित्र सबैलाई थुनेर राख्ने निषेधाज्ञा थपिँदै गयो र समस्या जटिल बनेपछि व्यापारी, उद्योगपतिलगायत स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा हटाउन आग्रह गरे।
भदौ २० गतेदेखि अलि खुकुलो हुने प्रावधान राखेर भदौ ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ । यसैगरी बैतडी, डडेल्धुरा र डोटीमा निषेधाज्ञा जारी छ भने अन्य विभिन्न जिल्लाका स्थानीय तहले पनि आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञामाथि निषेधाज्ञा थप गरिए पनि तीनै तहका सरकारले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि गर्नुपर्ने सुधारका काम गर्न सकेको देखिँदैन।
निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर परिवार पाल्ने भोकभोकै हुने अवस्थामा छन् भने दूरदराजमा रहेका बिरामी उपचारका लागि अस्पतालसम्म जान सकेका छैनन्। स्थानीयलाई समस्याले दिनानुदिन जेलिरहेको छ। परीक्षण बढाएर समुदायमा कोरोना महामारी फैलिनबाट रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्।
सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्। निषेधाज्ञा लगाएर सर्वसाधारणलाई घरभित्र थुनेर मात्र पूरै समस्या समाधान हुन नसक्ने कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त बताउँछन्।
‘निषेधाज्ञा अल्पकालीन समयका लागि हो, हामीले यसअघि पनि ३ महिना लगाइसक्यौं,’ उनी भन्छन्, ‘निषेधाज्ञा मात्र लगाएर सबैलाई घरभित्र थुनेर समस्या झन् जटिल बन्ने देखिन्छ।’ लामो समयको निषेधाज्ञाले अन्य भोकमरीलगायत मानवीय समस्या हुन सक्ने उनी बताउँछन्। ‘टेस्ट बढाउनेलगायत अन्य काम नगरेर निषेधाज्ञा मात्र लगाएमा रोगसँगसँगै भोकमरीलगायत जटिल समस्या देखिनसक्ने खतरा छ।’ निषेधाज्ञा लगाएका बेला स्वास्थ्य उपचार प्रणाली व्यवस्थित बनाउने र रोकथामका लागि ठोस योजना बनाउने, पूर्वाधार थप गरिनुपर्नेलगायत कुरामा सरकारको ध्यान जानुपर्नेमा त्यो हुन नसकेको विज्ञ तथा वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ बताउँछन्।
परीक्षण बढाएर समुदायमा कोरोना संक्रमण रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु र भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्। सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्।
भारतबाट आएकालाई बिनाजाँच क्वारेन्टिनमा नराखी घरघर जान दिँदा समुदायमा संक्रमण फैलिएको छ। चैत ११ गतेदेखि सरकारले लागु गरेको झन्डै ४ महिना लामो लकडाउनमा समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक व्यवस्थापन, तयारी र पूर्वाधार गर्न नसकेकोमा अहिले पनि समस्याको गम्भीरताअनुसार तयारी र काम गर्नमा ध्यान पुग्न सकेको छैन।
परीक्षण बढाइएन
प्रदेश सरकारले गत चैत १५ गते डोटी, बैतडी र धनगढीमा पिसिआर मेसिन सञ्चालन गर्ने निर्णय गरेको थियो। निर्णय गरेको लामो समयसम्म मेसिन आएनन्। साढे ४ महिनापछि धनगढी र डोटीमा मेसिन सञ्चालन आएका छन्। बैतडीमा अझै सञ्चालन हुन सकेको छैन।
अहिले सुदूरपश्चिममा धनगढी, डडेल्धुरा र डोटीमा गरेर चारवटा मेसिन सञ्चालन भए पनि परीक्षण भने बढ्न सकेको छैन। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी नमुना संकलन नै कम भएकाले परीक्षण बढ्न नसकेको बताउँछन्। ‘जनशक्ति र नमुना संकलन नै कम भएकाले परीक्षण कम भइरहेको हो,’ उनले भने।
बढीभन्दा बढी परीक्षण गर्न विभिन्न स्थानीय तहमा नमुना संकलन गर्ने टोली नै अहिलेसम्म नबनेको उनले बताए। चारवटा मेसिनबाट २४ घण्टामा ४ हजार नमुना जाँच गर्न सकिने भए पनि औसत हजारदेखि ११ सयसम्म मात्र परीक्षण भइरहेको छ। जब कि २४ घण्टामा १२ सय परीक्षण एउटै मेसिनले गर्न सक्छ।
समुदायमा अझै जाँच भएन
सुदूरपश्चिममा पछिल्ला दिनमा कोरोनाको संक्रमण सुमदायमा देखिन थालेको छ। एउटै परिवारका धेरैजना, एउटै टोलमा धेरैजनामा संक्रमण देखा परेको छ। विज्ञले समुदायमा जनरल जाँच गरेर कोरोनाका संक्रमितलाई आइसोलेसन गर्नुपर्ने सुझाव दिए पनि परीक्षणको दायरा नबढेकाले समुदायमा मास रुपमा जाँच हुन सकेको छैन।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समेत चरम लापरबाही हुँदा सम्पर्कमा आएका सबै व्यक्तिको समेत जाँच हुन सकेको छैन। संक्रमितको नाम गोप्य राखिने भएकाले जिम्मेवार निकायले कन्ट्याक्ट ट्रेसिङमा लापरबाही गर्नाले सम्पर्कमा आएका व्यक्तिलाई समेत जानकारी नहुने गरेको छ।
भारतबाट आएकालाई सिधै घर पठाउनु, कन्ट्याक्ट ट्रेसिङमा लापरबाही हुनु, समुदायमा जाँच नगरिनु र परीक्षणको दायरा नबढाइनुले डरलाग्दो रुपमा कोरोनाको महामारी समुदायमा फैलिनसक्ने भन्दै विज्ञहरूले चिन्ता गरेका छन्।
‘परीक्षणको दायरा नै बढाइएको छैन, परीक्षण बढाएर समुदाय स्तरमा जाँच गरिनुपर्छ,’ वरिष्ठ फिजिसियन कायस्थ भन्छन्, ‘परीक्षणको दायरा बढाइएन भने कोरानाको महामारी भयावह रूपमा फैलिनेछ।’ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख अवस्थी भारतबाट आएकाहरू सिधै घरघर जाँदा समुदायमा कोरोना फैलिने अवस्था आएको बताउँछन्।
सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीबाट प्रत्येक दिन औसत रुपमा २÷३ जना नेपाल फर्किरहेका छन्। संघीय सरकारले विद्यालय खाली गर्न लगाएपछि क्वारेन्टिनको अभावमा भारतबाट आएकालाई सिधै घरघर पठाउने गरिएको बुझिएको छ।
कोरोनाको आगो दन्किरहेको भारतका विभिन्न ठाउँबाट प्रत्येक दिन सयौं नेपाली घर फर्किरहेका छन्। साउनको सुरुदेखि नै भारतबाट फर्किने सबै नेपालीलाई कुनै जाँच नगरी र क्वारेन्टिनमा समेत नराखी सिधै घरघर पठाइँदै आएको छ।
क्वारेन्टिनको अभाव
प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन सार्वजनिक गर्ने विवरणमा क्वारेन्टिन सयौं स्थानमा भएको र हजारौं बेड भएको उल्लेख हुने गर्छ। तर यो झुठो विवरण हो।
यसअघि विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको थियो। बाहिरबाट आएका ५० हजार जनाभन्दा बढीलाई राखियो। संघीय सरकारले विद्यालय खाली गर्न निर्देशन दिएपछि साउनको पहिलो सातादेखि सबै विद्यालय खाली गरिएका छन्। विद्यालय खाली गरिएपछि क्वारेन्टिनको अभाव भएको हो।
अन्य क्वारेन्टिन अहिलेसम्म बनाइएको छैन। निषेधाज्ञा तत्कालका लागि अन्य तयारी र व्यवस्थापन गर्न भए पनि यो समाधान नभएको सेती प्रादेशिक अस्पताल कोरोना रोकथाम उपचार विभाग प्रमुख डा. शेरबहादुर कमर बताउँछन्। ‘भारतबाट आएकालाई सिधै घरघर पठाएकाले समुदायमा संक्रमण गएको देखिन्छ,’ उनले भने, ‘अब निषेधाज्ञा मात्र समाधान होइन्, यो बेला परीक्षण बढाउनुपर्छ।’
संक्रमण देखिएका बिरामीलाई आइसोलेसन र उपचार व्यवस्थापनमा पनि ध्यान दिइनुपर्छ। ‘४०÷ ५० बेड बढाउनु र केही थान भेन्टिलेटर थप्नुबाहेक अन्य हुन सकेको छैन, समुदायमा महामारी फैलिएपछि अवस्थाको आँकलन गरेर व्यवस्थापन र तयारी गरिनुपर्छ,’ उनले भने, ‘पूर्वाधार थप गर्ने, भेन्टिलेटर थप गर्नेलगायत अन्य व्यवस्थापनको तयारी गरिनु आवश्यक छ।’ सुदूरपश्चिमका पहाडी ७ जिल्लामा एउटा पनि आइसियु छैन। आइसोलेसन नथपिएकाले अभाव छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत १४ गते पहिलो केस देखिएको सुुदूरपश्चिममा अहिलेसम्म ६ हजार १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १४ जनाको ज्यान गएको छ । नागरिक दैनिकवाट साभार