काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ। सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन्।
पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ। सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ।
यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ। यसैक्रममा मंगलबार उपसमितिले कोभिड र नन् कोभिडका विरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा नीजि अस्पतालका सरकोकार वालाहरुसँग छलफल गरेको छ।
छलफलमा सहभागि सरकारी तथा नीजि अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका थिए। नेपालमा कोरोना संक्रमण देखिएपछि आफनो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिलाई जानकारी गराएका छन्।
छलफलका क्रममा वीर अस्पतालका निर्देशक केदार प्रसाद सेन्चुरीले भदौ २१ गतेदेखि अस्पतालले कोभिड अस्पतालका रुपमा सेवा दिइरहेको बताए। ४ सय ६० बेड रहेकोमा ४ सय २२ बेड सञ्चालनमा भएको उनले जानकारी दिए।
उनले भने, ‘त्यसै भित्र कोभिड र ननकोभिड दुवैलाई सुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौं भने अब डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ। अन्य सेवाहरु हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ।’
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेलले लकडाउनपछिको समयमा ननकोभिड विरामीको संख्या कम भएपनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको बताए।
अहिलेको समयमा सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मिक र न्यून आकस्मिकलाई प्राथमिकता दिएको तर आवश्कता अनुसार सबै अपरेशन गर्ने गरेको उनले बताएका छन्।
उनले भने, ‘कोभिडको लागि चैत महिनादेखि भदौको अन्तिम सम्म आउँदा झण्डै ३ हजार कोभिड शंकास्पद विरामीहरुलाई हामीले सेवा दिएका छौँ। त्यो मध्ये झण्डै १३ सय विरामी भर्ना गरेर उपचार गरेका छौं।’
उनले हालसम्म २ सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएको जानकारी दिए। साथै उनले कोभिड पोजेटिभ भएको विरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुने उनले जानकारी दिए।
पाटन अस्पतालका कार्यकारी निर्देशक डा. रवि शाक्यले कोभिड संक्रमणको दर बढेसँगै पीपीइ लगायतका सामग्रीको अभाव हुने देखेर आफैले त्यसको उत्पादन सुरु गरेको बताए। उनले हालसम्म पाटन अस्पतालमा २ हजार कोडिभका विरामीहरु भर्ना भएको जसमा १८ सयजना निको भएर घर फर्किएको जानकारी दिए।
उनले थपे, ‘संक्रमण नभएका स्वास्थ्यर्मीहरु पनि त्रसित बन्दै गएका छन। उनीहरुको मनोबल एकदमै कम भएको अवस्था छ। काम गरेपनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ। त्यो अवस्थामा स्वास्थ्यकर्मीहरुबाट काम लिन एकदमै गाह्रो भएको छ।’
बिएण्डबि अस्पतालका कोभिड व्यवस्थापन प्रमुख, डा. संगिता शाक्यले सबैभन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै ठाउँमा राखेर भएको बताइन्। उनले त्यसो गर्नुको सट्टा कोभिड डेडिकेटेड अस्पतालहरुमा क्षमता बढाएर कोभिड विरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने ननकोभिड बिरामीले सेवा पाउने बताइन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि क्रिटिकल अवस्था भएको बताएका छन्। उनले कोभिडका लागि १२ वटा आइसियु बेड छुट्याएको जानकारी दिए।
उनले थपे, ‘हामीले खर्च गर्न सक्ने विरामीलाई एकल कोठा दिएका छौं। अलिकति कम खर्च गर्न सक्ने र आइसियुमा राख्न नपर्नेलाई चार जनाको बेड उपलब्ध छ।’
नर्भिक अस्पतालका आइसालेसन इञ्चार्ज, डा. अजय खडकाले स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको बताए। उनले हालसम्म २८ जना पोजेटिभ विरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएको जानकारी दिए।
उनले थपे, ‘दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा अस्पतालले डिस्चार्ज गरेर पठाउने गरेको छ। आफ्नो ल्याब नभएको कारण परीक्षणको लागि बाहिर पठाउने गरिएको छ।’रासस