धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले बिपद व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेपाली काँग्रेसको संसदीय दलले आपत्ति जनाएको छ । कोरोना महामारी,बाढी, पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे पनि व्यवस्थापनमा प्रदेश सरकारको भूमिका प्रभावकारी नभएको भन्दै संसदीय दलले आपत्ति जनाएको हो ।
यस बिषयमा आज मुख्यमन्त्री कार्यालयमै पुगेर प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेशको संसदिय टोलीले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । विपद् व्यवस्थापनमा गम्भीर बन्न मुख्यमन्त्री त्रिलोचल भट्टलाई संसदीय दलका नेता डा. रणबहादुर रावलले सुझाव दिएका छन् । उनले बाढी,पहिरो पीडितहरूलाई तत्काल राहत ,क्षतीगस्त भएका संरचनाहरूलाई निर्माण र घाइतेको यथाशीघ्र उपचारमा ध्यान दिन आग्रह गरे ।
यसैगरि प्रदेश सरकारको लाचारताका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै उनले तत्काल परीक्षणको दायरा बढाइनु पर्ने बताए । प्रदेशका चारवटै नाकामा होल्डीङ सेन्टर स्थापना गर्न पनि रावलले सुझाव दिए ।
मुख्यमन्त्री भट्टले भने विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको दाबी गरे । बाढी,पहिरो पीडितको स्थलगत अनुगमनगरी क्षतिको सङ्कलन र राहत वितरण भइसकेको उनले दाबी गरे । बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको दिर्र्घकालिन व्यवस्थापनका लागी बस्ती विकास कार्यक्रममा जोड दिइने मुख्यमन्त्री भट्टले बताए ।
कोरोना व्यवस्थापनमा पनि प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको उनले दाबी गरे । परीक्षणको दायरा बढाउन प्रदेश सरकारले प्रदेशका ३ ठाउँमा पिसिआर मेसिन स्थापना गरिसकेको र थप तिन ठाउँमा जडानको तयारी भइरहेको उनको भट्टले बताए । साथै मुख्यमन्त्री भट्टले योजना बाँडफाँडमा कुनै विभेद नभएको स्पष्ट पारे ।