कैलाली - जिल्ला प्रशासन कार्यालय कैलालीले आउँदो भदौँ ३१ गते सम्मका लागि सबै सेवाहरु स्थगीत गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञाको पालना कार्यान्वयन गर्दै नागरिकता, राहादानी लगायतका सबै सेवाहरु स्थगीत गरेको हो ।
‘निषेध सम्बन्धी आदेश कार्यान्वयन गर्ने गराउँने सन्दर्भमा यस कार्यालयबाट जारी हुँदै आएका नागरिकता, राहादानी लगायतका सबै सेवाहरु २०७७÷०५÷३१ सम्म स्थगीत गरिएको व्यहोरा अनुरोध छ जिल्ला प्रशासन कैलालीका प्रशासकिय अधिकृत यादव बहादुर भण्डारीद्धारा जारी सूचनामा भनिएको छ ।’
कोरोना भाईरसको संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि यही भदौ ४ गतेदेखि कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिएको छ ।
शनिबार देखि ३१ भदौसम्म लागु हुने गरी खुकुलो पारेर निषेधाज्ञालाई भने निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी बोहराले दिएको आदेश अनुसार ३१ गतेसम्म तोकिएका मापदण्ड पूरा गरेर व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ । होटल तथा रेष्टुराले भने होम डेलीभरी गर्नुपर्ने छ ।
राति ९ बजेदेखि विहान ५ बजेसम्म भने हिडडुलमा रोक लागाइएको छ । जिल्लाभरी जोरबिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पाईनेछ ।
सार्वजनिक सवारी साधनमा एक लाईनमा एक जना मात्रै यात्रु अर्थात ५० प्रतिशत मात्रै यात्रु बोक्न पाईनेछ। सिटी रिक्सा र अटोको हकमा जोरबिजोर प्रणाली अनुसार यातायात मापदण्ड पूरा गरी बढिमा दुई जना यात्रु राखेर सञ्चालन गर्न र्पाइनेछ। खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुधडेरी, कपडा पसल लगायतका व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने छ।