डोटी - डोटीमा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । भदौ २८ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा कायम हुनेछ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
जारी निषेधाज्ञा र सोको पालनाले कोभिड– १९ को संक्रमण नियन्त्रणमा सकारात्मक प्रभाव परेको र संक्रमण जोखिमलाई अझै कम गर्न जारी आदेशलाई निरन्तरता दिन एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको हो।
यसअघि भदौ १४ गतेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय डोटीमा कोरोना संक्रमितको संख्यामा बढ्दै गएपछि स्थितिलाई मध्यनजर गर्दै थप संक्रमण फैलन नदिन रोमथाम, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन सम्बन्धीत निकायसँगको छलफल तथा सल्लाहमा निषेधाज्ञा गरिएको प्रजिअ भट्टराईले बताए ।
निषेध अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय संचालन गर्न दिइएको छैन् । अत्यावश्यक सामग्रीलगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सबै सवारी साधन जिल्ला प्रवेश गर्न निषेध गरिएको छ भने जिल्ला भित्र संचालन हुने सबै प्रकारका निजी तथा सार्बजनिक यात्रुबाहक सवारी साधनमा समेत रोक लगाइएको छ ।
कुनै पनि मेला, पर्व, महोत्सब, जात्रा संचालन गर्न, मानिसहरु भेला/जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्नमा समेत निषेध गरिएको छ । यदि आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने उपर संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने समेत भनिएको छ ।डोटीमा हालसम्म कोरोना संक्रमितको संख्या नौ सय ५५ जना रहेका छन् ।