अछाम - जिल्लाको रामारोशन गाउँपालिका ५ सैनी वजारस्थित कैलाश खोलामा आएको बाढीले वगाएकामध्ये नौ जना अझै फेला परेका छैनन् । यही भदौ २ गते राति परेको अबिरल बर्षासंगै आएको बाढीले मध्यरातमा सैनीबजार रहेका घर र पसलहरु बगाउदाँ १७ जना बेपत्ता भएका थिए ।
ति मध्ये ८ जनाको शब फेला परेपनि ९ जना भने अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछाममा प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए । रामारोशन ५ का ४७ बर्षीय नन्दु साउद, ४५ बर्षीया गंगा साउद, ६ बर्षीया प्राप्ती साउद, करीव ६० बर्षीया जोगा साउद र ४० बर्षीया पवित्रा देवी शाह वेपत्ता छन् ।
४ बर्षीय समिर शाह, ४५ बर्षीया वसुन्धारा साउद, ९ बर्षीय वसन्त शाही र करीव ७० बर्षीया बीमा देवी साउद पनि भेटिएकी छैनन् । बेपत्ताहरुमा नन्दु र गंगा श्रीमान श्रीमती हुन् भने प्राप्ती उनीहरुकी नातिनी हुन् । संगै वगेका नन्दुका छोरा २७ बर्षीय रमेश साउँद, बुहारी बविता बुढा साउँद र अर्का छोरा १२ बर्षीय नविन साउँदको ६ गते शव फेला परेको थियो ।
नन्दुकी सासुआमा रामारोशनगाउँपालिका(६ भाटियाखोला बस्ने बीमादेवी साउँद पनि बेपत्ताकै सूची छन् । उनी छोरी ज्वाई भेट्न आएो बेला बाढीमा परेकी थिइन् ।
बाढीमा बगेका ४५ बर्षीय अम्मर शाह , २९ बर्षीया सम्झना शाह, ३२ बर्षीया गौरी शाह, ४८ बर्षीय चन्द्र साउद र ४५ बर्षीया लालसरा शाहीको शव ६ र ७ गते फेला परेको थियो । बेपत्ताहरुको खोजी जारी रहेको रामारोशन गाउँपालिका(५ का वडाध्यक्ष लक्ष्मण दमाईले जानकारी दिए । खोलाले ठुल्ठुला ढुङ्गा समेत वगाएर ल्याएको र ढुङ्गाभित्र च्यापिएको आशंका उनको छ । बाढीका कारण झण्डै एक सय परिवार बिस्थापित भएको वडाध्यक्ष दमाईले वताए ।
उनले भने ‘बिस्थापितमध्ये केहीलाई स्थानीय बिद्यालयमा, केहीलाई त्रिपालमूनी राखिएका छ ।’ सोडना, धन्सल्ला, अल्लेरी, सैनी, नवदुर्गा, आडेखाँद, साननीगाउँ लगायतका बस्तीहरु बिस्थापित भएको उनले जानकारी दिए । सैनीवजारका करीव ३० पसल, तरकारी संकलन केन्द्र, बिभिन्न संघसंस्थाका कार्यालय पनि बगेको छ ।