अत्तरिया - कैलालीमा यही भदौ ४ गतेदेखी जारी निषेधाज्ञालाई आज देखी खुकुलो पारिएको छ । कोभिड–१९ को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई आज देखि खुकुलो पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भाद्र ३१ गतेसम्म निषेधाज्ञा जारी रहेपनि पहिले भन्दा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिएको बताए । उनका अनुसार सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ । तर ५० प्रतिशत यात्रु मात्रैं बोक्न पाउने छन् । जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
त्यसैगरी भिडभाड नगरी व्यापार व्यवसाय खोल्न पाउने छन् । बिहान ५ देखि साँझ ७ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न सकिने छ । होटल रेस्टुरेन्टहरुले होमडेलीभरि मात्रै गर्न पाउने प्रमुख जिल्ला अधिकारी बोहोराले बताए । उनका अनुसार सेवाग्राहीको बढी भिडभाड हुने मालपोत, भूमिसुधार नापी, यातायात कार्यालयमा आन्तरिक कार्य सम्पादन बाहेक सेवा बन्द नै हुने छन् ।
अन्य सरकारी कार्यालयहरुले आधा कर्मचारी राखेर मात्रै कार्य सम्पादन गर्नु पर्नेछ । बैंक बित्तीय संस्थाहरुले आफ्नो सेवा ११ देखि २ बजेसम्म मात्रै दिन पाउने छन् । र सुरक्षा मापदण्ड अपनाएर उद्योग सञ्चालन गर्न पाइने छ ।
यस अवधिमा शैक्षिक संस्था, तालिम केन्द्र सिनेमा अल, पार्टी भोजभतेर प्यालेस रंगशाला, फुटसल, खेलकुद, जिमखाना, ब्युटिपार्लर, सैलुन लगायतका सेवाहरु साथै बन्द नै रहने छन् । मेलाजात्रा, धार्मिक जात्रा जस्ता क्रियाकलाप पनि बन्द नै रहने जनाएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही भदौ मसान्तसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको छ । भदौ ४ गतेदेखि कञ्चनपुर जिल्लाभर जारी रहेको निषेधाज्ञालाई केही परिमार्जन गरी यही भदौ ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, कञ्चनपुर जिल्लाभर लागु हुने गरी बिहान ६ बजेदेखि बेलुकी ५ः३० बजेसम्म उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन गर्न सकिने भएपनि बेलुका ५ः३० बजे देखि बिहान ६ बजेसम्म अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेक अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन नगर्न सूचना जारी गरिएको छ ।