अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा ४ सय ३१ जनाले कोरोनालाई जितेका छन् । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानिय तहमध्ये सबै भन्दा बढी संक्रमित फेला परेको यस नगरपालिकामा हाल सम्म ४ सय ३१ जना कोरोना संक्रमण मुक्त भएको गोदावरी नगरपालिकाले जनाएको छ ।
गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण प्रसाद बडुका अनुसार कोरोना संक्रमणवाट मुक्त हुनेहरुमा २ सय ९३ जना पुरुष र १ सय ३८ जना महिला रहेका छन् । गोदावरी नगरपालिकाका १२ ओटै वडाहरुमा गरि हाल सम्म ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ सय २७ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।
उनीहरु मध्ये ३ जना संक्रमितको भने मृत्यु भैसकेको छ । गोदावरी नगरपालिका वडा नं १ अत्तरियाका एक जना यातयात ब्यवसायी , वडा नं ७ र वडा नं ११ का १÷१ जना गरि ३ जनाको कोरोना संक्रमण पछि उपचारका क्रममा मृत्यु भएको हो । मृतक तिनै जना पुरुष हुन् । अब नगरपालिका भित्र ५० जना मात्रै संक्रिय सक्रमितहरु रहेका छन् ।
उनीहरुमा कोही भारतवाट आएकाहरु रहेका छन् भने कोही कतै नगएकाहरुमा पनि ट्राभल हिस्ट्री नभएकाहरु पनि रहेको सुचना प्रबिधि अधिकृत बडुले बताए । उनीहरु सबैजना अहिले होम आईसोलेसनमै रहेको र सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए । सुरु सुरुमा भारतवाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परिक्षण गर्दा पोजेभिट रिपोर्ट आएपछि मालखेती अस्पतालको आइसोलेसन र बिधालयहरुमा बनाएको आईसोलेसनमा राख्ने गरेको थियो ।
तर पछिल्लो समय भने सबै संक्रमितहरु घरमै बस्ने गरेका छन् । उनीहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल अस्पतालमा पुञ्याउने ब्यबस्था मिलाएको नगरपालिकाले जनाएको छ । मालाखेती अस्पतालमा २० बेडको आईसोलेसन तयार पारिएको भएपनि अहिले एक जना पनि संक्रमित रहेका छैनन् ।
गोदावरी नगरपालिकामा हाल सम्म २८ सय बढीको पिसिआर परिक्षण भैसकेको सुचना प्रबिधि अधिकृत बडुले बताए । जसमध्ये २ सय १० जनाको पुन दोस्रो पटक परिक्षण गरिएको उनले बताए । ६० जनाको रिपोर्ट भने आउन बाकिँ रहेको छ । नगरपालिका भित्र भारतवाट आएका र संक्रमित ब्यक्तिका परिवारका सदस्यहरुको स्वाब संकलन गरि परिक्षणका लागि धनगढीमा पठाएका ६० जनाको रिपोर्ट आउन बाकिँ रहेको उनले गोदावरी न्युजलाई जानकारी दिए ।
गोदावरी नगरपालिका भित्र अहिले पनि भारतवाट आउने क्रम जारी रहेको र भारतवाट आएर सिधै घर गएका सबैको परिक्षण पनि भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।