अत्तरिया - कोरोनाको त्रासले स्वदेश भित्रिएका सुदूरपश्चिमका नागरिकहरु फेरि रोजगारीका लागि भारततिर फर्किन बाध्य भएका छन् । दैनिक हजारौको संख्यामा कोरोना संक्रमितहरु थपिने र मृत्यु भैरहेको छिमेकी भारतमा रोजगारीका लागि जानेहरुको अहिले लर्काे नै लाग्न थालेको हो । भदौको महिना सुरु भएसँगै नेपाली युवाहरु भारत जाने क्रम झनै बढेको छ ।
सुदूरपश्चिममा महत्त्वपूर्ण मानिने ओल्के संक्रान्ति , गौरा पर्व मनाएपछि युवाहरु बाहिरिन थालेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै युवा नाकासम्म पुग्ने गरेका छन् ।
सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली , कञ्चनपुर सहित पहाडी बिभिन्न जिल्लावाट र बाँके, बर्दियावाट पनि अहिले गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत तिर गइरहेका हुन् । उनीहरु स्याउ टिप्न भनेरै भातका बिभिन्न शहरहरुमा पसिरहेका छन् ।
बिहिवार मात्रै गौरीफन्टा नाकाबाट दुई सय ८० र गड्डाचौकी नाकाबाट ४६ गरी तीन सय २६ जना भारत गएका छन् । गौरीफन्टा नाकाबाट एक सय ३१ र गड्डाचौकीबाट ८३ जना गरी दुई सय १४ जना नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
कोरोनाको कहरले घर फर्कनेहरूले अहिले फेरि यहाँ बेरोजगार बनेको र घर खर्च चलाउन पनि धौ धौ भएकाले भारत तिर जानुपर्ने बाध्यता रहेको भारततिर पसिरहेकाहरु बताउँदछन् । गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर राजेन्द्र कुँवरका अनुसार पछिल्लो एक सातामा १ हजार ३ सय ५ जना नेपाली भारत पसेका छन् ।
भदौ १ देखि १० सम्ममा भारत जानेको संख्या ८ सय ४४ रहेको थियो । कामका लागि भारत पस्ने केहीसँग रासन (आधार) कार्ड छ, कसैसँग छैन । भारतीय सुरक्षाकर्मीले आधार कार्ड बोकेका परिवार वा भारतीय कम्पनीले मजदुरका लागि पास पठाएकालाई मात्र प्रवेश गर्न दिएको छ । रासन कार्ड नभएकाहरू कार्ड भएका परिवारको सदस्य भएर भारत पस्ने गरेका छन् ।
उनीहरूले आफूहरूलाई काम गर्न जाने ठाउँबाट गाडी बुकिङ गरेर नाकासम्म मगाएको बताएका छन् । कोरोना त्रासले गत जेठमा परिवारसहित घर आएका कैलालीको लम्कीचुहा नगरपालिका–२ बगौराका प्रेम सन्ज्याल फेरि सुरत फर्केका छन् । लामो समयदेखि भारतमा परिवारसहित बस्दै आएका उनीसँग उतैको रासन कार्ड छ ।
‘उता सम्पर्क गरी गाडी बुकिङ गरेर पठाउन लगाएका हौं,’ सन्ज्यालले भने, ‘यतै बसेर कसरी धान्ने ?’ उनकै हूलमा परिवारसहित सुरत जान लागेका लम्कीकै देवीराम खनाल पनि थिए । ‘कोरोनाको डरले घर फर्कियौं,’ उनले भने, ‘यहाँ के खाने ? काम केही पाइँदैन, आफैं केही गर्न सकिने अवस्था पनि छैन , मरे उतै मरौंला ।’
उनले वर्षौंदेखि भारतमा आधार कार्ड बनाएर परिवारसहित बसिरहेका आफूजस्तै धेरै परिवार कोरोनाका कारण नेपाल आए पनि यहाँ भोकले मर्ने डरले फर्कन लागेको बताए ।
गाउँमा बेरोजगार भएका गरिब परिवारका अरूलाई पनि उतै लगिरहेको उनले बताए । घरमा बालबच्चा भोकै मर्ने अवस्था आएपछि बाहिर निस्कनु परेको लम्कीकै भरत बिष्टले बताए । ‘परिवारलाई रोगको डर छैन,’ उनले भने, ‘परिवार कसरी पाल्ने चिन्ता मात्रै हुन्छ ।’