अत्तरिया - कैलालीमा यही भदौ ४ गते मध्यरातिदेखि जारी भएको निषेधाज्ञा खुकुलो पारिने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जारी गरेको आदेश अनुसार निषेधाज्ञालाई भदौ ३१ गतेसम्मका लागि निरन्तरता दिइने तर धेरै खुकुलो पारिने भएको हो ।
भदौ २० देखि तोकिएका मापदण्ड पूरा गरेर जिल्लाभर व्यापार व्यवसाय विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईने छ भने सार्वजनिक यातायातका साधनहरु जोरबिजोर प्रणालीमा संचालन गर्न पाइने भएको छ । सार्वजनिक सवारी साधन संचालन गर्दा सवारी बस्ने एक लाइनमा एक जना मात्र बस्न पाउने अर्थात ५० प्रतिशत यात्रु मात्र बोक्न पाइनेछ ।
अटो रिक्सा पनि जोर बिजोर प्रणाली अनुसार संचालन हुनेछन् र बढीमा २ जना यात्रु मात्र बोक्न पाइनेछन् । यसैगरि खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध डेरी, कपडा पसल लगायतका ब्यापार व्यवसाय स्वास्थ्यका मापदण्ड पूरा गर्न सञ्चालन गर्न पाईने छ । सरकारी तथा सार्वजनिक कार्यालयहरुले न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराई कार्यालय सञ्चालन गर्न पाउनेछन् ।
अन्य कर्मचारीलाई घरबाटै कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि आदेश दिईएको छ । यसैगरि बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनको हकमा सामाजिक दूरी कामय गरि भीडभाड नहुने गरी विहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन गर्न पाईने छ । तर जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय जस्ता भीडभाड हुने कार्यालयले दैनिक प्रशासनिक कार्य बाहेकका अन्य सेवा सञ्चालन गर्न पाइने छैन ।
शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, फिटनेस सेन्टर, स्पा, सैलुन लगायतका सेवा तथा स्थलरुह सञ्चालन गर्न नपाइने भएको छ । ठेलागाडा वा साईकलमा सञ्चालन हुने फलफूल र तरकारी बाहेक अन्य किसिमका व्यापार व्यवसाय सञ्चालन गर्न पाईने छैन् ।
आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सास्कृतिक गतिविधिहरु , मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न नपाईने आदेशमा उल्लेख गरिएको छ । कैलालीमा दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढेपछि प्रमुख जिल्ला अधिकारीले भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका थिए ।