मोरङ – प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताएका छन् ।
दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको उनको भनाई छ ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताए । ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भने - ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’
वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दासमेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको माग नै को हो भन्ने बारेमा उ आफैँ अन्यौलमा रहेको बताए। अहिलेको गतिविधि अनुचित र असंवैधानिक रहेको ओलीको आरोप छ ।
उनले सिके राउतसँग भएको सहमतिको विषयलाई भने राज्य विखण्डन विरोध गतिविधि अन्त्य भएको बताए ।
प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताए । अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुने ओलीको भनाई छ ।