अत्तरिया -कैलालीको गोदावरी नगरपालीका क्षेत्रका सामुदायिक वनहरु अतिक्रमण गर्ने क्रम अझै रोकिएको छैन । नगरपालीकाको वडा नम्बर २ मा रहेको पञ्चकन्या सामुदायिक वनमा पनि अतिक्रमण हुन थालेको छ ।
स्थानियले सिमा मिच्दै वनको केही भागमा घेरबार गरी घडेरीको लागी आँफै छुट्याउन थालेका छन। स्थानियले उक्त वनमा रहेका सिसमका ठुल ठुला रुखहरु काटेर घेरबार गरेका हुन् । सामुदायिक वनको किनारमा खाली रहेको चौर (तप्पड) गौचरन र स्थानिय खेलाडीहरुले खेलमैदानको रुपमा प्रयोग गरी खेलकुद खेल्दै आएका छन । वनको खाली भागको वरिपरि भने सिसम र खएरका रुखहरु रहेका थिए । अतिक्रमण भएको सामुदायिक वनको बारेमा नगरपालीका र ईलाका वन कार्यालय अत्तरियामा स्थानियले जानकारी गराएको भएपनी अहिले सम्म कुनै सुनुवाई भएको छैन ।
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समितीले नै २ बर्ष पहिले देखी वनमा कुनै किसिमको चासो नदिएको समितीकी कोषाध्यक्ष कलसा धामीले बताईन् । वडा नम्बर २ का वडा सदस्य कमल कडायतले मनोमानीरुपमा सामुदायिक वन अतिक्रमण गर्नु राम्रो नभएको बताए । खेलकुद मैदान नभएकाले वनको खाली भाग भएकाले स्थानिय खेलाडीहरुले खेलकुद मैदानको रुपमा प्रयोग गर्दै आएको वडा सदस्य कडायतले बताए ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले अतिक्रमित बनबारे कुनै जानकारी नभएको बताए । उनले मौखिक जानकारी पाएसंगै केही दिन पछि अनुगमन गरेको र थप अनुसन्धानको लागी अत्तरिया ईलाका वन सँग छलफल भईरहेको बताए ।
'पुरानो समितीमा उपभोक्ता घरधुरी थोरै रहेकोले बनको नयाँ समिती गठन गर्नुपर्ने अवस्था देखिएको छ,' उनले भने, 'पहिलेको समितीमा कमै उपभोक्ताहरु रहेछन्, अब नयाँ समिती बनाएर उपभोक्ताहरु थप्न लगाउनु पर्ने हो। बोलाउँदा पनि एक थरिका मान्छेहरु आउने एक थरिका नआउने गर्दा समस्या भएको छ ।” एकातिर बन अतिक्रमणबाट जोगाउने अर्को तिर खेलमैदान बनाउने प्रबृति पनि गलत भएको उनको भनाई छ ।
उक्त सामुदायिक वन नगरप्रमुख हरि सिंह साउँदको घर नजिकै रहेको छ । तर यसको संरक्षणको लागी उनले पनि खासै चासो नदेखाएको स्थानियको भनाई छ । कैलालीको गोदावरी क्षेत्रमा मात्र नभई राजमार्गको छेउछाउमा अहिले टहरा तथा खोका निर्माण गर्ने क्रम बढेको छ । डिभिजन वन कार्यालय धनगढीको तथ्याङ्क अनुसार देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको पाईएको छ ।