कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ ।
युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका तथा परिवारबारे गरिएको अध्ययनमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको हो । अहिले स्कुल जाने १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको युनिसेफले जनाएको छ । त्यसमध्ये पनि ८० प्रतिशतले मात्रै दूर शिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ लागि उपयोग गरिरहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८)मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या करिब ५६ लाख छ ।
कोभिडका कारण विद्यालय बन्द रहेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नै १ असारदेखि वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सुरु गरेको हो । अहिले रेडियो तथा टेलिभिजनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । सरकारले सुरुमा दूरशिक्षा सञ्चालनका लागि २५ करोड लगानी गरेको थियो भने अहिले लगानी बढाउँदै गएको छ ।
नेपालमा परिवार जति गरिब हुन्छ, त्यति नै त्यो परिवारका बालबालिकाले दूरशिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना कम भएको जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा गरिब परिवारका बालबालिकामध्ये पाँच प्रतिशतले मात्रै दूरशिक्षामा पहुँच प्राप्त गरी त्यसको सदुपयोग गर्छन् ।
युनिसेफको अध्ययनअनुसार विद्यालय बन्द रहेको समयमा दूरशिक्षाबारे चासो देखिएको भए पनि पठनपाठनको अवस्था अझै चिन्ताजनक रहेको छ । प्रविधि र साधनहरू उपलब्ध भए पनि घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नका लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रसारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव छ । यी कारणले बालबालिकाले दूरशिक्षाका माध्यमबाट प्रभावकारी रूपमा सिकाइ हासिल गर्न असमर्थ रहेको प्रतिवेदनमा औँल्याएको छ ।
युनिसेफको अध्ययनअनुसार विश्वभर एकतिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूरशिक्षाको पहुँचबाट वञ्चित छन् । दूरशिक्षामा पहुँच योग्यता प्रतिवेदनले एक सयवटा देशहरूमा पूर्वप्राथमिक, प्राथमिकदेखि माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकामाझ दूरशिक्षाका लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमूलक विश्लेषणको प्रयोग गरेको छ । तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ ।
कोभिड– १९ का कारण विद्यालय जानबाट वञ्चित कम्तीमा ४६ करोड ३० लाख बालबालिकाको दूरशिक्षामा पनि पहुँच नभएको बताउँदै युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भने, ‘महिनौँसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाइमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपत्काल हो ।
यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ ।’विभिन्न देशमा भएका देशव्यापी र स्थानीय लकडाउनको समयमा विद्यालय बन्द हुँदा झन्डै डेढ अर्ब बालबालिका प्रभावित भएका थिए ।