अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा मात्रै ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी १ अत्तरियाका एक जना यातायत ब्यबसायी , वडा नं ७ र वडा नं ११ का १÷१ जना गरि ३ जनाको मृत्यु भएको हो । मृतक तिनै जना पुरुष रहेको र उनीहरुको मृत्यु अघि नै कोरोना पुष्टि भएको हो ।
पहिलो पटक असार ३ गते गोदावारी नगरपालिकाका वडा नं १ अत्तरिया बस्ने ४६ वर्षीय पुरुषको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीको नवजिवन अस्पतालमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई नवजिवन अस्पतालवाट सेती अस्पतालमा लगिएको थियो । उनी अत्तरियाका बस व्यवसायी रहेको र कोरोना महामारीका बिच पनि भारतवाट आउने मानिसहरुलाई सुदूरपश्चिमका बिभिन्न गन्तब्य सम्म पुञ्याउदै आएका थिए । त्यसको ठिक १० दिन पछि फेरि गोदावरीकै एक पुरुषको मृत्यु भयो ।
क्यान्सरवाट पीडित रहेका गोदावरी नगरपालिका वडा नं ७ घर भएका ५० वर्षीय पुरूषको असार १३ गते चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । उनमा पनि मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए । त्यसपछि त्यसको २ महिनापछि यही भदौ १० गते अर्थात हिजो मात्रै सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका वडा नं ११ ओलानी घर भएका ४५ बर्षीय पुरुषको मृत्यु भएको छ ।
मंगलवार साँझ कोरोना पुष्टि भएका गोदावरी नगरपालिकाका धनगढीको निसर्ग अस्पतालको आईसियूमा उपचार भईरहेको समयमा उनमा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । सेतीमा सारिएको एक दिन नपुग्दै उनको हिजो बुधवार बिहान मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले बताए ।
उनी फोक्सो र कलेजोका बिरामी रहेको बुझिएको कुबरले बताए । अहिले सम्म गोदावरी नगरपालिकामा ४ सय ५८ जना कोरोना संक्रमित फेला परेका छन् । जस मध्ये अहिले सम्म ४ सय १० जना निको भएर डिस्चार्ज भैसकेका छन् भने बाकिँ बिभिन्न अस्पताल तथा आईसोलेसनमा रहेका छन् । बढी जसोे भारतवाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको छ ।