अत्तरिया - “राम्रो लगाउने , राम्रो खाने र यो चर्को गर्मीमा घरभित्रै बस्ने मन त कसलाई नहोला तर के गर्नु गरिबीले साँझ बिहान खान पुग्दैन् , पापी पेट पाल्नै पञ्र्याे । अहिले यहि एक जिउने साहारा बनेको छ ।” जेठ महिनाको टनटलापुर घाममा खुटिया खोलाको छेउमा गिट्टी कुट्दै गर्दा भेटिनुभएकी कैलालीको गोदावरी नगरपालिका ८ बल्मीकी खिना बोहराको भनाई हो यो ।
उमेरले ७० बर्ष पुगिसकेकी ति बुढि आमा घामपानी नभनी दिनभर खुटिया खोलामा गिट्टी कुटेर आफ्नो पुरा परिवारको खर्च चलाउदै आएकी छन् । बिहानको उज्यालोमा सबै उठेर घरदैलो लिपपोत , गोठपातमा लाग्छन् तर ति ७० बर्षिया बृद्धा डोको र कट्टा समातेर ढुगां खाज्न खुटिया खोलमा जन्छिन् । “बिहान ढुगांहरु जम्मा गरेर आउछु दिनभर तिनैलाई कुटेर गिट्टी बनाउँछु ” उनले भनिन् – “गिट्टी कुट्दा हतौडाले कहिले हातमा चोट लाग्छ , कहिले औलाहरुमा , हाम्रा दुःख हेर्ने को होला ।” सरकारले दिने गरेको जेष्ठ नागरिक भत्ता अहिले सम्म आफुले पाउन नसकेको उनले गुनासो गरिन् ।
पाहाडवाट आएको दशक बितिसक्दा सम्म बिभिन्न कागजपत्रहरुको नपुगेको भन्दै आफु र आफ्ना श्रीमानले भत्ता पाउन नसकेको उनको भनाई थियो । “उनले दुख पोख्दै भनिन् वडा कार्यालय र नगरपालिकामा गएको तर त्यहा बसाईसराइ चहियो , नागरिकता चाहियो भन्यो हामी तराईमा आएको बर्षौ बितिसक्यो नागरिकता उतै हरायो , बसाईसराई छैन , अगाडी थपिन् – पाहाडमा गएर ल्याइदिने मान्छे पनि कोहि छैन एक छोरो त थियो त्यो पनि भारतमा छ । ”बुढाबुढी दुवैको भत्ता आएको भए यसरी दिनभर गिट्टी कुट्नु पर्ने अबस्था नआउने उनले बताइन् । यसरी गिट्टी कुटेर उनले सात जना परिवारको जीविका चलाउँदै आएकी छन । उनी मात्रै होइन् पछिल्लो समयमा गोदावरी नगरपालिकाको वडा नं ८ बल्मी गाउका अधिकाशं स्थानियबासी गिट्टी कुटेर जिवन निर्वाह गर्दै आइरहेका छन् ।
स्थानिय स्तरमा रोजगारीको अबसर नहुदा र खेतीपाती गर्नलाई जग्गाजमिन नहुदा दशक पहिले देखी स्थानियहरु दैनिक खुटिया खोलाको किनारमा गिट्टी कुटेर आफ्नो जिविकोपार्जन गरिरहेका हुन् । थुप्रै दुख कष्ट मोलेर भए पनि खोला किनारमा गिट्टी कुटेर जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ । पाहाडवाट तराईमा झरेको १० बर्षभन्दा बढि भयो त्यहि बेलादेखी गिट्टी कुटेर घरपरिवारको खर्चको जोहो गरिरहेको खोलाको किनारमा गिट्टी कुट्दै गरेकी खन्टी बोहराले बताइन् । उनले बढि जसो न्युन आयस्तर भएका स्थानियहरुको बसोबास रहेको बल्मीका साना केटाकेटी देखी ७० बर्ष सम्मका बृद्धबृद्धाहरु गिट्टी कुट्नकै लागि खुटिया खोला आउने गरेको बताइन् । उनले भनिन् – “घरमा कमाउने कोही छैन , छोराहरु घरमा त्यसै बसेका छन् रोजगारी पाउदैनन् घर गुजरा त चलाउनुपञ्र्यो काहाँवाट ल्याउने त्यहि भएर दिनभर यहि खोलामा गिट्टी कुट्छौ अनि साझ बिहानका लागि चामल दाल किनेर लैजान्छौ । ” अहिले खुटिया खोलको किनारमा करिब ५०÷६० परिवारका सय भन्दा बढि स्थानिय महिला ,पुरुष ,केटाकेटी र बृद्धबृद्धाहरुको रोजगार चलेको छ । यद्धपी सुरक्षा , स्वास्थ्य र आवश्यक पर्ने औजारको अभावले उनिहरुलाई निकै कठिनाइ भैरहेको छ ।
उनीहरुले आफुले कुटेर बनाएको गिट्टी १ घनमिटर बराबर २ हजारमा बिक्री गर्ने गर्दछन् । क्रेशर नचलेको बेला केहि महङ्गोमा जाने गरेपनि क्रेशर चल्दा भाउ निकै घट्ने गर्दा मेहेनत धेरै लाग्ने गरेको बल्मीकै स्थानीय महिला चन्द्रा बिष्टले बताइन् । आखा समेत राम्रो संग देख्न नसक्ने ७० बर्षिय बृद्धा पदमा ठकुल्लाले आफु ८ बर्षदेखी सोहि खोलामा गिट्टी कुटेर गुजरा चलाइरहेको बताइन् । उनले घरमा कमाउने कोहि नहुदा केटा केटीहरुको पालनपोषण ,शिक्षादिक्षा ,स्वास्थ्य सबै खर्च चलाउन हाम्मे हाम्मे परेपछि घरगुजरा चलाउनकै लागि गिट्टी कुट्न सुरु गरेको बताइन् । उनले अहिले सम्म भत्ताको कागज बन्न नसक्दा सरकारको एक पैसा पनि आफुले नपाएको बताइन् ।
चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने ठकुल्लाले हातमा लागेको चोटका दाग देखाउँदै भनिन् – “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता । वर्षा पछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुन्छ । उनले थपिन् – हाम्रा दुःख हामीसंगै छन् कसले सुन्छ , पत्रकार भन्ने धेरै पटक आए हाम्रा दुख हेरेर गए तर चुनाबका बेला देखिने नेता भने कोहि आएनन् । ”आफुहरुले गिट्टी कुट्न सुरु गरेदेखी अहिले सम्म थुप्रै सरकार फेरिए पनि कसैले आफ्ना बारेमा नसोचेको उनिहरुको गुनासो छ ।
२० बर्षपछि भएको स्थानिय तहको निर्वाचनमा निर्वाचित जनपतिनिधिहरुले त आफ्ना समस्याहरुको समाधान गर्छन भन्ने ठुलो आशा बोकेको भएपनि चुनाब जितेपछि कोहि फर्केर नआएको बोहराले बताइन् । चुनाबका बेला भोट माग्न पटक पटक खोलमै पुगेका अहिलेका जनप्रतिनिधिहरु चिल्ला कार , घुम्ने कुर्ची र एसी कोठा पाएपछि गरिबका दुखहरुलाई भलेर रमाइरहेको उनिहरुको आरोप छ ।