अत्तरिया - सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्वको आज मुख्य दिन । आज अठ्वली अर्थात् अष्टमी हो । आजको दिनलाई बिषेश रुपमा ब्रतालु महिलाहरुले गौरा देवीको पूजाआजा गर्ने गर्दछन् । सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली , कञ्चनपुर सहित दार्चुला, बैतडी, डोटी , डडेल्घुरा बझाङ र अछाममा धुमधामका साथ मनाईन्छ ।
यो संगै गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।
अठवली अर्थात् आजको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।
देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ । गौराको अबसरमा सुदूरपश्चिमका छुट्टै रौनक हुने गरेको भएपनि यस बर्ष भने कोरोना कहरका कारण सबै ठाउँ सुनसान रहेका छन् ।
गौरा पर्व मनाउन विगतका वर्षमा जिल्ला तथा देशबाहिर गएकाहरु आ–आफ्ना घर फर्किने गर्दथे भने तराईवाट पहाडमा जाने बसहरु भरिभराउ हुन् गर्दथ्ये । यस बषै सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा निषेधाज्ञा पनि जारी गरिएकाले सबै क्षेत्र ठप्प रहेको छ ।