डडेल्धुरा - जिल्लाको आलिताल गाँउपालिका–८ मा निर्मित डोला -चक्रपथ सडक निर्माणका क्रममा अन्धाधुन्ध किसिमले काटिएका सालका रूखहरू खोज्न डिभिजन वन कार्यालय डडेल्धुराले सक्रियता बढाएको छ ।
सोमबार बेलुकी आलिताल गाउँपालिका–८, स्थित सुदूरपश्चिम प्रदेशसभाकी सांसद तथा सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीको घरमा केही थान सालका गोलिया, केही थान चिरिएको सालका कडी बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।
‘३ फिटभन्दा बढी ८ फिट लम्बाइसम्मका सालका गोलिया अन्दाजी ६० क्युविक फिट र चिरिएको सालका कडी अन्दाजी ३ क्युविक फिटजति छन्,’ उनले भने, ‘सो परिणामको काठसँगै दाउराअन्तर्गत पर्ने किसिमका २ फिटभन्दा लम्बाइ भएका २०/२२ थान मोटा गोलिया पनि भेटिएका छन् ।’
सांसद जोशीको सो घरमा उनका स्वकीय सचिवसमेत रहेका सहोदर दाजु शर्मानन्द जोशीको परिवार बसोबास गरिरहेको स्थानीय बताउँछन् । खोजबिनका क्रममा जंगलमा लुकाएर राखिएको अवस्थामा थप ४२ थान सालको गोलिया काठ बरामद गरिएको र खोजबिन कार्य जारी रहेका निमित्त डिभिजन प्रमुख बोहराले बताए ।
उनले वनक्षेत्रमा भेटिएको सबै काठ संकलन गरेर आलिताल सबडिभिजन कार्यालयमा राखिने जानकारी दिए । यसअघि गत शुक्रबार १ सय १० थान सालका गोलिया बरामद गरिएको थियो । ‘बरामद गरिएको सबै काठ १ हजार क्युविक फिटभन्दा बढी परिमाणको छ,’ उनले भने, 'जंगलमा थप काठ हुन सक्ने आशंका भएकाले खोजबिन थालेका हौँ ।’
उनले सडक निर्माणका नाममा भएको वन विनाशका सन्दर्भमा विस्तृत अनुसन्धान भइरहेको जिकिर गरे । यसअघि गत आइतबार सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्राेत समितिको ५ सदस्यीय सांसदको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो ।
स्थलगत अध्ययनका क्रममा आलिताल गाउँपालिकाको समपूरक कोषबाट निर्मित डोला चक्रपथ सडक रूख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ ।