अत्तरिया - पछिल्लो २४ घण्टाको अबधिमा सुदूरपश्चिममा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित सेती अस्पताल र डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा आज थप १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामा आज चार सय ६९ जनाको कोरोना परीक्षण गरिएकोमा ५७ जनामा संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका २९, अछामका १८, डोटीका ६, कञ्चनपुर र बझाङका दुई÷दुई जनामा संक्रमण देखिएको छ ।
कैलालीको धनगढीका १३ जना, टीकापुरका १४ जना र मोहन्याल गाउँपालिकाका दुई जनामा संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । यसैगरि अछामको साँफेवगरका तीन जना , मंगलसेनका १४ जना र स्थानीय तह नखुलेका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ । डोटीको आदर्श गाउँपालिकाकाका २ जना, कञ्चनपुरको भीमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिकाका १÷१ जना र बझाङका २ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरि डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज १ हजार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१ ज्ना , गौरीगंगा नगरपालिकाका ७ जना , टीकापुर नगरपालिकाका ८ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जना रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए ।
यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना , कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीमा नेपाली सेनामा कार्यरत १ जनामा कोरोना पुष्टि भएको उनले बताए ।
यो सहित सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे ५ हजार नाघेको छ । अहिले सम्म ५ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।