बैतडी- जिल्लामा आजदेखि निषेधाज्ञा लागु हुने भएको छ । आज राती १२ बजेदेखि भदौ १४ गते राती १२ बजे सम्म लागू हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय प्रशासनले आंशिक निषेधाज्ञा जारी गरेको उनले बताए । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजीम निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा अत्यावश्यक सेवा तथा वस्त बाहेक सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द गरिने उल्लेख गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक कसैले बाहिर हिडडुल गर्न पाइने छैन भने बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्रै निस्कन पाइनेछ ।
यसैगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने, एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक जिल्लामा अन्य सवारी साधन प्रवेशमा रोक लगाउने, जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ । यस्तै सरकारी कार्यालयहरुमा पनि न्यूनतम कर्मचारीको उपस्थितीमा सार्वजनिक सेवा प्रवाह गर्ने, अत्यावश्यक भनि तोकिएका बाहेक अन्य सवारी साधनमा रोक लगाइने आदेशमा उल्लेख गरिएको छ ।
यस्तै निषेधज्ञा जारी गरिएको अवधिमा सबै प्रकारका मेला, जात्रा, सभा, जुलुस, खेलकुद लगायत भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । परम्परागत रुपमा नित्यपूजा बाहेक भीडभाड हुने किसिमले मनाइने चाडपर्वमा रोक लगाइएको आदेशमा उल्लेख छ ।
यस्तै निषेधाज्ञा जारी गरिएको अवस्थामा होटेल तथा रेष्टुँराहरु सञ्चालन गर्न नदिइने पनि आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश विपरीत कसैले कार्य गरेमा कानुन अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताए ।