कैलाली - पछिल्लो दिनहरुमा कोरोना संक्रमण झन झन बढ्दै गएपछि देशभर ४८ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रलायले आइतबार राति ४८ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेको हो ।
जसमा सुदूरपश्चिमका ५ जिल्ला सहित ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।
गृह मन्त्रालयका अनुसार हाल सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यस्तै नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।
आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।
कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरिएका छन् । मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । यता कैलाली जिल्लामा ४ दिन देखी पूर्ण रुपमा निषेधाज्ञा जारी लागू गरिएको छ ।
निषेधाज्ञाले यहाँका शहर बजारहरु सुनसान रहेका छन् भने उधोग कलकारखाना सबै ठप्प रहेका छन् । बजार क्षेत्रमा प्रहरीले निकै कडाई गर्दै सर्वसाधारणलाई अत्यआवश्यक बाहेक बिना काममा घर बाहिर ननिस्किन आग्रह गरिएको छ ।